भगरथी हत्या प्रकरण : आरोपित र मृतकको स्वाबबाट निकालिएको डिएनए मिल्यो
अखबार टुडे
प्रकाशित:
२०७७, १२ चैत्र

काठमाडौं, १२ चैत । १७ वर्षीया भगरथी भट्टको बलात्कारपछि हत्या आरोप लागेका दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको छ ।
केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो ।
स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बलियो बनेको प्रवक्ता सिंहले बताए । प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै ४ फागुनमा उनलाई पक्राउ गरेको थियो । त्यसवेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए ।
गत २६ फागुनमा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिनेशलाई दिपायलस्थित सुधार गृह पठाउन भनेको थियो । हाल आरोपित दिनेश सुधारगृहमा छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथी २२ माघमा घरबाट विद्यालय गएपछि नफर्किएपछि खोजी गर्दा २३ माघमा उनको शव खोचलेकस्थित लवलेक जंगलमा भेटिएको थियो ।

प्रतिक्रिया