जसपाको अडान कायमै : सांसद चौधरीको रिहाइ र संविधान संशोधन मुख्य माग
अखबार टुडे
प्रकाशित:
२०७७, १० चैत्र

काठमाडौं, १० चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सत्ता साझेदारीका लागि आफ्नो अडान कायमै राखेको छ । जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुको मुद्दाका विषयमा जो इमान्दार हुन्छ, उसैलाई साथ दिने भनाइ दोहोर्याएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै आफ्नो अडान दोहोर्याएका हुन् ।
नेता महतोले भने, ‘जो इमान्दार भएर आउँछ उसलाई सहयोग गर्ने हो । इस्युसँग जो उभिन्छ, उसलाई सहयोग गर्ने हो ।’ उनले अहिलेको सरकारले आफूहरुको मुद्दा सम्बोधन गर्छु भनेको पनि महतोले बताए ।
सत्ता साझेदारीका लागि जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधनलगायतका विषयलाई मागका रुपमा अघि सारेको छ ।
मंगलबार पनि जसपाका नेताहरुले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । उनले सरकारले गृहकार्य गरिरहेको जवाफ दिएको भन्दै भने, ‘संविधान संशोधनको विषयमा कांग्रेस र माओवादी केन्द्र समेतका पार्टीहरुलाई पनि हामीले आग्रह गरिरहेका छौँ ।’
सत्ता साझेदारी कोसँग गर्ने भन्ने विषयमा अहिले आफूहरु अलमलमा नरहेको समेत नेता महतोले बताए । उनले भने, ‘सरकारमा जाने–नजाने विषयमा पार्टीले निर्णय गर्छ । माग पूरा भएपछि जाने वा नजाने भन्ने सोचौँला ।’

प्रतिक्रिया