शुल्क वृद्धिको विरोधमा उत्रिए विद्यार्थी
अखबार टुडे
प्रकाशित:
२०७७, १० चैत्र

कञ्चनपुर, १० चैत । सुदूरपश्चिम विश्वविद्यालयका विद्याथी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् ।
शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने कार्यक्रम तय गरेका छन् । शुल्क वृद्धि फिर्ता नभएसम्म विरोधका कार्यक्रम जारी रहने, अखिल क्रान्तिकारीका अध्यक्ष गणेशराज मिश्रले बताए । ‘शुल्क वृद्धिविरुद्ध चैत १२ गतेसम्म विरोधका कार्यक्रम तय गरेका छौँ’ ।
विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय क्याम्पसको लेखा शाखामा तालाबन्दी गर्नाका साथै विश्वविद्यालयका पदाधिकारीहरुलाई कार्यालय प्रवेशमा निषेध गरेका छन् । सवारी साधनको दुरुपयोग रोक्नका लागि जनाउँदै नियन्त्रणमा लिने कार्यसमेत जारी राखेका छन् ।
कोभिड–१९ का कारण अभिभावकको रोजगारी गुमेका कारण अधिकांश विद्यार्थीले विश्वविद्यालयको शुल्क तिर्न नसक्ने भएकाले यसका विरुद्ध विरोधमा उत्रिनु परेको विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीको भनाइ छ । विरोध कार्यक्रमका बीचमा अध्यापनको कार्यलाई अवरोध भने विद्यार्थीले गरेका छैनन् । शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरुले दुई साता अघिदेखि विरोधका कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया