अमेरिकाको कोलोराडोमा गोलीबारी, १० जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, १० चैत्र

वासिंगटन, १० चैत । संयुक्त राज्य अमेरिकाको कोलोराडोको बोल्डर शहरमा गोलीबारी भएको छ । सो घटनामा परी प्रहरीसहित कम्तिमा १० जनाको मृत्यु जनाइएको छ ।
एक बन्दुकधारीले बोल्डर शहरको टेबल मेसा इलाकाको एक ग्रोसरी सुपरमार्केटमा स्थानीय समयानुसार करिब दिउँसो ३ बजे गोलीबारी भएको समाचार एजेन्सी एफपीले जनाएको छ ।
प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको छ । प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले दिएको जानकारी अनुसार केही सुरुवाती जानकारी मात्रै प्राप्त गरिएको र हिंसाका कारण के हो भन्ने हालसम्म यकिन हुन सकेको छैन ।
तर स्थानीय मिडियामा देखाइएको भिडियोमा बक्सरमात्रै लगाएका दाह्री भएका गोरा व्यक्तिलाई हत्कडीमा स्टोरबाट बाहिर लैजादैं गरिएको देखिएको छ । त्यसपछि उनलाई स्ट्रेचरमा सुताएर एम्बुलेन्समा गिएको थियो । हिरासतमा लिइएका व्यक्तिको खुट्टाबाट रगत निस्किरहेको थियो र उनी खुट्टा खोच्याएर हिँडिरहेका थिए ।
घटनाका बेला सुपरमार्केटभित्रै रहेका प्रत्यक्षदर्शीले गोलीको आवाज सुनेपछि आफूहरु पछाडिको बाटो हुँदै बाहिर निस्किएको बताए । कम्तिमा आठ गनशट सुन्ने रयान बोरोव्स्कीले सीएनएनसँग भने, ‘एउटा सोडा र चिप्सको प्याकेट खरिद गर्न जाँदा म त झण्डै मरिनँ ।’ दर्जनौं बख्तरबन्द वाहन, एम्बुलेन्स र एफबीआई एजेन्ट, स्वाट टीमसमेत सुरक्षाबल घटनास्थलमा पुगेका छन् ।

प्रतिक्रिया