काठमाडौं, १० चैत । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज मंगलबार बस्दैछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे अलमल गरिरहेको बेला स्थायी कमिटी बैठक बोलाइएको हो ।
माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजेका लागि बैठक राखिएको बताएकी छन् । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै सांगठनिक विषयमा छलफल हुने उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन कायम राखेकै कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्ता समीकरणबारे तत्काल निर्णय लिन सकिरहेको छैन ।
फागुन २३ को सर्वोच्चको फैसलाअनुसार नेकपाको पार्टी एकता बदर भएर पूर्ववत् अवस्थामा एमाले र माओवादी केन्द्र नै ब्युँतिएपछि माओवादी केन्द्र पार्टीको संगठनात्मक संरचना निर्माणदेखि पार्टीको पछिल्लो राजनीतिक धारणा बनाउन जुट्दै आएको छ ।