माधव पक्षको अडान कायमै : ओलीको स्पष्टिकरण पत्रको जवाफ लिखित रुपमा दिने तयारी
अखबार टुडे
प्रकाशित:
२०७७, ९ चैत्र

काठमाडौं, ९ चैत । नेकपा एमाले ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ लिखित रुपमै फर्काउने माधव नेपाल पक्षले निर्णय गरेको छ ।
ललितपुरमा सोमबार सम्पन्न माधव झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्षमा सो समूह पुगेको हो ।
महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको पत्र प्राप्त भएको भन्दै सो पत्रको मंगलबार लिखित जवाफ दिने तयार गरेको माधव–झलनाथ पक्षका एक नेताले बताए । उनका अनुसार अहिले त्यसका लागि आन्तरिक छलफल भइरहेको छ ।
गत ७ चैत ७ गते बालुवाटारमा अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेको भन्दै ओली पक्षले माधव पक्षका नेताहरुलाई कारवाही किन नगर्ने ? भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो । तर, माधव पक्षले ओलीको स्पष्टिकरणको जवाफ दिने र आफ्नो अडान कायम राख्ने भएको छ ।
सर्वोच्च अदालतले नेकपा एकता पूर्ववत रुपमा व्यूँताएसँगै एमाले दुई धारमा संघर्षरत छ । दुवै धारको आआफ्नै अडानमा छन् ।

प्रतिक्रिया