काठमाडौं, ९ चैत । राजनीतिक खिचातानीका कारण प्रधानमन्त्रीको अध्यक्षता रहने आयोगमा संवैधानिक परिषद्ले समयमै पदाधिकारी सिफारिस र नियुक्ति गर्न नसक्दा लोकसेवा आयोग एकैपटक पदाधिकारीविहीन बन्दैछ । मंगलबारदेखि लोक सेवा आयोग पदाधिकारीविहीन बन्ने भएको हो ।
आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रम्हदेव राय र कृष्णचन्द्र झा भोलिदेखि सेवा निवृत्त हुनासाथ ११ चतदेखि नै आयोगका सबै काम ठप्प हुने लोकसेवा आयोगले जनाएको छ ।
आयोगका अध्यक्षलगायत पाँचै जना पदाधिकारीको पदावधि यही १० चैतदेखि समाप्त हुँदैछ । पदाधिकारी समयमा सिफारिस र नियुक्ति हुन नसक्दा आगामी ११ चैत्रदेखि लोकसेवा आयोगका सबै काम ठप्प हुनेछन् ।
आयोगद्वारा सञ्चालन हुने परीक्षा तथा नतिजाका सबै काम रोकिनेछ भने सरकारी निकायमा रिक्त रहने स्थानमा नयाँ कर्मचारी पदपूर्ति गर्ने प्रक्रियासमेत अवरुद्ध बन्न पुग्ने देखिएको छ ।
संविधानको धारा २८४ को उपधारा ३ अनुसार संवैधानिक परिषद्ले संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने प्रावधान छ । पदाधिकारी नहुँदा नियमित प्रशासनिकबाहेक परीक्षा सञ्चालन गर्ने, अन्तर्वार्ता लिने तथा नतिजा निकाल्नेलगायत आयोगका नियमित कार्य सबै ठप्प हुनेछन् ।