तीन दिने अल्टिमेटमसहित एमालेका चार नेतालाई स्पष्टीकरण पत्र
अखबार टुडे
प्रकाशित:
२०७७, ९ चैत्र

काठमाडौं, ९ चैत । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण पत्र पठाएको छ ।
नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र पठाइएको पार्टी कार्यालयका सचिव ईश्वर रिजालले जनाएका छन् । पार्टी अनुशासनविपरीत गतिविधि गरिरहेको भन्दै उनीहरुलाई तीन दिनभित्र स्पष्टकीकरण दिन भनी पत्र पठाइएको हो ।
एमालेको शनिबार बालुवाटारमा आयोजित केन्द्रीय कमिटीको बैठकले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टीविरुद्ध गुटबन्दी गरेको, समानान्तर कमिटीहरू बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै चार नेतासँग स्पष्टीकरण लिने निर्णय गरेको थियो ।
सुरुमा केन्द्रीय सदस्य रामकुमारी झाक्रीलाई पनि स्पष्टीकरण सोध्ने भनिएको थियो । केन्द्रीय सदस्यहरुले अष्टलक्ष्मी शाक्यलाई पनि कारबाही गर्नुपर्ने माग गरेका थिए । तर हाइट नपुगेको भन्दै अध्यक्ष ओलीले शाक्य र झाँकीलाई स्पष्टीकरण नसोध्ने बताइएको थियो ।
स्पष्टीकरणपत्रमा ती अभियोगमाथि चित्त बुझ्दो स्पष्टीकरण तीन दिनभित्र पेश गर्न भनिएको छ ।

प्रतिक्रिया