‘एकता कसले नचाहेको रहेछ बुझ्नुभयो होला नि ?’
अखबार टुडे
प्रकाशित:
२०७७, ७ चैत्र

काठमाडौं, ७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा सहभागी वामदेव गौतमलाई पार्टी एक ढिक्का बनाएर अघि बढाउन भूमिका खेल्न आग्रह गरेका छन् । जवाफमा नेता गौतमले पार्टी एकताकै लागि भूमिका खेलेको स्मरण गराएका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एमालेको स्थायी समिति बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘नेकपादेखि एमालेसम्म तपाइँ एकता एकता भन्दै हिँड्नु भएको छ । एकता कसले नचाहेको रहेछ बुझ्नुभयो होला नि ?’ प्रधानमन्त्री ओलीले अब एकता एकता भनेर पछि नलागे पनि हुन्छ भन्दै भने, ‘उहाँहरु एमालेमा बस्न चाहनु भएको छैन । पार्टी कसरी एक बनाएर अघि बढ्न सकिन्छ त्यसतर्फ लागौँ ।’
अध्यक्ष ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले नेतृत्व सरकार समूह कारबाहीको भागीदार रहेकाले कारबाही हुने बताए ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले खनाल–नेपाल समूहको चाहना पार्टी कब्जा गरेर प्रचण्डलाई बुझाउने रहेको समेत आरोप लगाए । उनले खनाल–नेपाल समूहले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाको आलोचना गर्दै भने, ‘भेलाका अगुवाकर्ताहरुलाई कारबाही गरेर जानुको विकल्प छैन । त्यसका लागि विधि र पद्धति बनाइन्छ । भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौँ ।’

प्रतिक्रिया