क्यान्सरपीडित देउमान केरुङको सहयोगार्थ सांगीतिक कार्यक्रम हुँदै
अखबार टुडे
प्रकाशित:
२०७७, ७ चैत्र

काठमाडौं, ७ चैत । क्यान्सरपिडित कलाकार तथा संगीत व्यवसायी देउमान केरुङ उपचार सहयोगार्थ बृहत सांगीतिक कार्यक्रम हुने भएको छ । आगामी २०७८ बैशाख २५ गते शनिबार राष्ट्रिय नाचघर जमलमा हुने सहयोगार्थ कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुले प्रस्तुती दिने भएका छन् ।
जुनतारा सांस्कृतिक सेवा समाजको आयोजनामा हुन लागेको उक्त कार्यक्रम विशुद्व सहयोग संकलनका लागि गर्न लागिएको समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक हास्यकलाकार गणेश इशाराले बताए ।
पाँचथर फालेलुङ गाउँपालिका–३, एकतीन जोरपाटीमा जन्मिएका देउमान केरुङ विगत डेढ बर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित छन् । यसअघि करिब २० लाखभन्दा बढी खर्च गरेर भारतको राजिव गान्धी अस्पतालमा फोक्सोको सफल शल्यक्रिया गरेका थिए । तर, ६ महिना नबित्दै पुनः समस्या दोहोरिएपछि समस्या आएको हो ।
हाल उनी नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा नियमित परिक्षण गर्दै आएका छन् । मासिक करिब ७० हजारभन्दा बढीको नियमित औषधी सेवन गर्नुपर्ने भएकोले आर्थिक संकटमा परेकाले आर्थिक संकलनका लागि कार्यक्रम गर्नुपरेको इशाराले बताए ।

प्रतिक्रिया