पुटिन-बाइडन वाकयुद्ध : ‘जस्तो बाइडन, उस्तै जवाफ’
अखबार टुडे
प्रकाशित:
२०७७, ६ चैत्र

काठमाडौं, ६ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी जो बाइडनको टिप्पणीको प्रत्युत्तर दिएका छन् । रुसी टेलिभिजनमा बोल्दै पुटिनले आफूसँग खुलारूपमा कुरा गर्न चेतावनी दिँदै भने, ‘त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्छ ।’ अमेरिकी राष्ट्रपतिले पुटिनलाई आफूले ‘हत्यारा’ ठानेको बताएका थिए ।
पुटिनले आफ्ना सुरक्षा निकायहरूले विपक्षी नेता एलेस्की नभाल्नीलाई मार्ने प्रयास गरेको भन्ने आरोपलाई अस्वीकार गरेका छन् ।
बाइडनले एबीसी न्यूजसँगको एउटा अन्तर्वार्तामा सन् २०२० को अमेरिकी निर्वाचनमा रुसले दिएको भनिएको हस्तक्षेपको पुटिनले ‘मूल्य तिर्नुपर्ने’ बताएका थिए । त्यसपछि रुसले वाशिङ्टनमा रहेका आफ्ना राजदूतलाई अमेरिकासँगको ‘अपरिवर्तनीय क्षति’ हुन नदिन भन्दै परामर्शका लागि फिर्ता बोलाएको थियो ।
बाइडनका आरोपहरू अस्वीकार गर्न पुटिनले विद्यालयका बालबालिकाले खेलका बेला प्रयोग गर्ने भनाइको सहारा लिए । उनले भने, ‘बाल्यावस्थामा हामी खेल मैदानमा बहस गर्दा भन्ने गरेको सम्झन्छु। त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्छ ।’
‘अनि त्यो संयोग होइन, ठट्टा वा बालबालिकाले भन्ने कुरा मात्र पनि होइन। त्यसको गहिरो मनोवैज्ञानिक अर्थ छ । हामीले सधैँ आफ्ना लक्षण अरूमा देख्छौँ र उनीहरू आफूजस्तै ठान्छौँ । फलस्वरूप उसका कामको समीक्षा गर्दै आकलनहरू गर्छौँ’ उनले भनेका छन् ।
पुटिनले अमेरिकालाई अमेरिकीहरूविरुद्ध नरसंहार गरेको र दोस्रो विश्वयुद्धमा हिरोशिमा र नागासाकीमा आणविक बम खसालेर नागरिकहरूको हत्या गरेको आरोप लगाए ।
त्यसअघि नै पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ‘त्यस्ता आरोपहरूको प्रमाण नभएको र त्यसले दुई देशबीचको सम्बन्धमा थप क्षति पु¥याउने’ बताएका थिए ।
रुसले अमेरिकी चुनावी अभियानलाई कमजोर पार्ने प्रयास गरेको निष्कर्ष निकालेको एउटा अमेरिकी गुप्तचर प्रतिवेदनबारे बाइडनले एबीसीको अन्तर्वार्तामा टिप्पणी गरेका थिए । मंगलवार सार्वजनिक १५ पृष्ठको उक्त प्रतिवेदनमा पुटिनले निर्वाचनमा हस्तक्षेपका लागि अनुमति दिएको जनाइएको छ ।
दश वर्षअघि ओबामा प्रशासनमा उपराष्ट्रपति हुँदा बाइडनले अस्थायी रूपमा प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका पुटिनलाई क्रेम्लिनमा भेटेका थिए । ‘मैले भनेँ–प्रधानमन्त्रीज्यू मैले तपाईँको आँखामा हेरिरहेको छु, मलाई लाग्दैन तपाईँसँग आत्मा छ’ त्यसको केही वर्षपछि उनले न्यूयोर्करसँगको अन्तर्वार्तामा भनेका थिए । (बिबिसी)

प्रतिक्रिया