माधव-झलनाथ पक्षको दुईदिने भेला सम्पन्न : १७ बुँदे विशेष प्रस्तावमा के छ ?
अखबार टुडे
प्रकाशित:
२०७७, ५ चैत्र

काठमाडौं, ५ चैत । नेकपा एमालेको माधव–झलनाथ पक्षको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
बुधबार सुरु भएको भेलाको बिहीबार समापनपछि आयोजित पत्रकार सम्मेलनमा पारित प्रस्तावहरू पढेर सुनाइएको थियो । भेलाले सर्वोच्च अदालतले फागुन २८ गते अध्यक्ष केपी ओलीले एकतर्फी गरेका निर्णयको भत्र्सना गर्दै पार्टी एकताको पक्षमा सवै नेता कार्यकर्ताहरूलाई उभिन आग्रह गरेको छ ।
त्यस्तै भेलाले ओलीका तर्फबाट भएका कथित सवै निर्णय रद्द गरेको छ । पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यक्रम जनताको बहुदलीय जनवादको मर्म र भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने कुरालाई पुनर्पुष्टि गरेपनि अध्यक्ष ओलीले त्यसलाई पक्रन नसकेको बताए ।
त्यस्तै नवौं महाधिवेशनले गठन गरेका पार्टी कमिटीको बदलामा बनाएका कमिटीहरु नस्वीकार्ने भेलाको निष्कर्ष रहेको छ । त्यस्तै जबजको मर्मअनुसार देशभर पार्टीका संगठनात्मक कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालिएको नेता भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिए । भेलाले अदालत र निर्वाचन आयोगलाई समेत संविधान र कानुनअनुसार चल्न आग्रह गरेको छ । राष्ट्रिय स्वाधिनता र लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेकाहरूसँग सहकार्य गर्दै अघि बढ्न भेलाले आग्रह गर्दै केपी ओलीले गुटबन्दीका विरुद्ध लड्न एमालेका नेता कार्यकर्ताहरूलाई आग्रह पनि गरेको छ ।
त्यस्तै, ओली पक्षबाट पार्टीका नेता कार्यकर्तालाई धम्क्याउने प्रयास भएकोमा त्यसको भर्त्सना गर्दै नेकपाले स्थापनाकालदेखि नै राष्ट्रिय स्वाधिनताको पक्षमा रहेको भन्दै नेपालको भौगोलिक अखण्डतामा आँच आउन नदिन सरोकारवालाको ध्यानाकर्षण गराएको छ । भेलामा ४ हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी भएको प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिएका थिए ।

प्रतिक्रिया