नयाँ सरकार गठन गर्ने दिन टाढा छैन : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७७, ५ चैत्र

सिन्धुली, ५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठन टाढा नरहेको बताएका छन् । बिहीबार बिहान सिन्धुलीमाढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिएर नयाँ सरकार बनाउने छलफल चलिरहेको छ ।’
अध्यक्ष प्रचण्डले पहिले पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गराएको स्मरण गर्दै आफू र आफ्नो दल माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी नगर्ने समेत बताए ।
उनले प्रधानमन्त्रीको आलोपालो नेतृत्वको लागि आफ्नो दल र कांग्रेसबीच छलफल भइरहेपनि निष्कर्षमा नपुगेको बताए । उनले केन्द्र सरकार फेरवदलको टुंगो नलागेसम्म प्रदेशमा पनि सरकार फेरबदल नहुने बताए । उनले भने, ‘केन्द्रमा जबसम्म सरकार फेरबदलको टुंगो लाग्दैन, तबसम्म प्रदेशमा पनि सरकार फेरबदल भइहाल्छ जस्तो मलाई लाग्दैन ।’
संविधान र परिवर्तनलाई सिध्याएरै छाड्ने प्रधानमन्त्री केपी ओलीको दुस्साहस कुनै हालतमा पूरा नहुने भन्दै अध्यक्ष प्रचण्डले त्यसकाविरुद्ध जुनसुकै स्तरको संघर्ष गर्न तयार रहेको बताए ।
एमालेमा विवाद रहेको चर्चा गर्दै उनले केपी ओलीले एमालेको नेतृत्व नगरेर गुट चलाएको बताए । अदालतको फैसलापछि ओली र माधवकुमार नेपाल एमाले बनेपनि ओलीले एकलौटी पेल्न खोजेर रमिता देखाएको उनको भनाइ छ ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले भेट्नका लागि टेलिफोन गरेको र आफूले दुईपटक फोन गर्दा पनि नउठाएको उनको दावी थियो । अध्यक्ष प्रचण्डले भने, ‘बिहान मलाई केपीजीको फोन आयो, भेट गरौँ भन्नुभयो, मैले ठीकै छ भनेँ । बेलुकी दुईपटक फोन गर्दा उठेन । तर अझै केपीजीको प्रस्तुति उही लोकतन्त्र र संविधान मास्ने नै छ ।’

प्रतिक्रिया