नेपाल खबर

माधव समूहको भेला : अग्रजहरुको साथ

काठमाडौं, ४ चैत । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले माधव–खनालले आयोजना गरेको भेलामा नजान निर्देशनात्मक चेतावनी दिँदै भनेका थिए, ‘भोलीको भेलामा को–को जान्छन्, नजर लाइनेछ ।’
मंगलबार आफ्नो सरकारी निवास बालुवाटार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै ओलीले भने, ‘पार्टी विधि विधान र तरिकाअनुसार चल्छ । नचाहिने कुराको अगाडि लत्रिने कुरा छैन । सत्यसँग नलड्ने निहुँ खोजुवाहरूसँग नझुक्ने । हाम्रो नीति हो ।’
तर, प्रधानमन्त्री तथा अध्यक्ष ओलीको यस्तो चेतावनीका बाबजुद पनि भेलाका नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो । एमाले माधव समूहले बुधबार ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा कम्युनिस्ट आन्दोलनका अग्रज नेताहरुसमेत सहभागी भए ।
अध्यक्ष ओलीले मंगलबार भनेका थिए, ‘भोलीको भेला गर्नुहुन्छ कि गर्नुहुन्न, उहाँहरू र कति तमासा गर्नुहुन्छ । एक नजरचाहिँ त्यता राखेको छु ।’ उनले पार्टीलाई धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने सोच्या भए त्यस्तो नहुने बताउँदै भने, ‘पार्टी विधि विधान र तरिकाअनुसार चल्छ । नचाहिने कुराको अगाडि लत्रिने कुरा छैन । सत्यसँग नलड्ने निहुँ खोजुवाहरूसँग नझुक्ने । हाम्रो नीति हो ।’
तर, ओलीको चेतावनी छल्दै पुराना तथा अग्रज कम्युनिष्ट नेताहरु कमल कोइराला, मोहनचन्द्र अधिकार, केशवाणि पोखरेल, राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, अमृत लाल बोहोरालगायत भेलामा सहभागी भए । अध्यक्ष ओलीको ध्यान यसतर्फ पक्कै गएको होला ? नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको भेलाले एमालेमा अध्यक्ष ओली र खनाल–नेपाल पक्षबीच विवादलाई झनै उत्कर्ष पुर्याएको छ ।
ओलीको एकलौटी निर्णयपछि नेता खनाल–नेपाल पक्षले समानान्तर गतिविधि अगाडि बढाउँदै आएका छन् । खनाल–नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्नु ओलीका लागि चुनौती हो । एमालेका संस्थापक नेतामध्येका नेता र कार्यकर्ता भेलामा सहभागी हुनलाई पार्टीमा ओलीप्रति वितृष्णा बढ्दै गएको स्पष्ट हुन्छ ।
भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अहिले देखिएको समस्याको मूल कारण पार्टी अध्यक्ष ओली भएको बताए । उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए ।
नेता नेपालले भने, ‘ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको हो । पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन ।’
ओलीले आलोचना र सुझाव नसुन्ने, पार्टी एकतालाई स्वार्थ सिद्धिको साधन बनाएको भन्दै नेता नेपालले ओलीले ‘जबज’को नारा लगाएर निरंकुश प्रवृत्ति देखाएको बताए । उनले भने, ‘उहाँले प्रधानमन्त्रीको कुर्सी बचाउन संविधानको अपब्याख्या गर्नुभयो, पार्टी निर्णय र सहमति भएका भन्दा विपरीत काम गर्नुभयो ।’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top