ओलीको व्यक्तिवादी र स्वेच्छाचारी प्रवृत्तिका कारण पार्टीमा संकट : नेता नेपाल
अखबार टुडे
प्रकाशित:
२०७७, ४ चैत्र

काठमाडौं, ४ चैत । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीको व्यक्तिवादी, अहंकारी र स्वेच्छाचारी प्रवृत्तिका कारण पार्टीमा संकटमा परेको बताएका छन् ।
बुधबार आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘केपी ओली यो पार्टीलाई छिन्नभिन्न पार्न लागिरहनुभएको छ । उहाँको दम्भका कारण एकताको ढोका बन्द भइसकेको निष्कर्ष निकाल्यौँ ।’ उनले पछिल्लोपटक ओलीसँग भएको छलफलपछि ओलीको दम्भ नहटेको भन्दै त्यसपछि पार्टी एकताको ढोका बन्द भइसकेको निष्कर्षमा पुगेको बताए ।
नेता नेपालले पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि एमालेको १०औँ र ११औँं बैठक नराखी एकैचोटी १२औंँ बैठक बोलाएको भन्दै प्रश्न गरे, ‘खोई, कहाँ गए दशौँ र एघारौँ बैठक ?’ उनले विधान संशोधन र केन्द्रीय कमिटीमा मान्छे थप्ने निर्णय पनि आफूखुसी गरेको बताउँदै त्यो आफूहरुलाई कदापि स्वीकार्य नहुने बताए ।
नेता नेपालले पार्टीमा गुटको सुरुवात समेत ओलीले नै गरेको बताए भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘पार्टीका उहाँ (केपी ओली)ले गुटको सुरुवात मदन भण्डारी फाउण्डेशनको नाममा गर्नुभएको हो ।’
नेता नेपालले पार्टीको गुटबन्दी गर्न भेला नगरेको समेत बताए । उनले भने, ‘यो भेला गुटको होइन । र, गुटबन्दी गर्नलाई होइन । यो नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला हो । यो भेलाको उद्देश्य भनेको पार्टीलाई कसरी सुढृकरण गर्दै जाने हो ।’
नेता नेपालले ओलीले बहुदलीय जनवाद (जबज)को समेत खिल्ली उडाएको बताउँदै भने, ‘उहाँले बहुदलीय जनवादको कुरा गरेर गुटबन्दीको विकास गर्नुभयो । समाजवादको नारा बोकेर सामन्त पुँजीवादलाई आश्रय दिनुभयो ।’ उनले जारी राष्ट्रिय कार्यकर्ता भेलामा यिनै विषयबारे छलफल हुने बताए ।

प्रतिक्रिया