फेरि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको संकेत !
अखबार टुडे
प्रकाशित:
२०७७, ३ चैत्र

काठमाडौं, ३ चैत । प्रतिनिधिसभा पुर्नस्थापनासँगै नेपाली राजनीतिमा गठजोडको खेल भइरहेको छ । झण्डै दुई तिहाइ बहुमत प्राप्त प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेपछि राजनीतिक बिग्रह सुरु भएको थियो । तर, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेपछि नेपाली राजनीतिले अर्को मोड लिएको छ ।

नयाँ सरकार गठन गर्न दलहरु आआफ्नो रणनीतिमा व्यस्त रहेका बेला मंगलबार राष्ट्रपति विद्या भण्डारीले सर्वदलीय बैठक बोलाइन् । बैठकमा राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुबीचको सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको समेत बताएकी छन् ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिएपछि दुवै पार्टी पुर्ववतः अवस्थामा आएसँगै अर्को राजनीतिक जटिलता आएको छ । नेकपा एमालेमा समेत ओली पक्ष र माधव पक्षको गुटबन्दीले पार्टी फुट्ने अवस्थामा रहेको छ । यसैबेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएर दलहरुलाई एकता र सहकार्यलाई निन्तरता दिनुपर्ने सुझाव दिएकी छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको पक्षमा अभिव्यक्ति दिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुर्नस्थापना गरेर के भयो भनी प्रश्न गरेका थिए । यसले के संकेत गर्छ भने ‘प्रधानमन्त्री पुनः प्रतिनिधिसभा विघटनको पक्षमा रहेका छन् ।’
प्रधानमन्त्रीको भनाइलाई आत्मसाथ गर्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले फेरि ताजा जनादेशमा जानुपर्ने जस्तो कुरा निकालेको बताएका छन् ।
बैठकमा प्रधानमन्त्रीले भने, ‘मैले विघटन गरेको संसद अदालतले फर्काइदियो तर संसद चलिरहेको छैन, यो संसदको प्रभावकारिता छैन ।’ प्रधानमन्त्रीले संसद पुर्नस्थापना भएपछि झन् अस्थिरता निम्तिएको र संसद राम्रोसँग चल्ने अवस्था नरहेको बताएका थिए । छलफलमा सहभागी नेताहरुले प्रधानमन्त्री स्वयम् संसदीय दलको नेता भएकोले सदन चलाउन पहल नगरेको जस्ता कुरा राखेको नेता पौडेलले बताए ।
बैठकमा प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादीका नेता महन्थ ठाकुर, उपेन्द्र यादव लगायतका नेताहरु सहभागी भएका थिए ।

प्रतिक्रिया