राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्छ : राष्ट्रपति
अखबार टुडे
प्रकाशित:
२०७७, ३ चैत्र

काठमाडौं, ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् । मंगलबार राष्ट्रपति निवास शितल निवासमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्छ । यो आवश्यक पनि छ ।’
राष्ट्रपति भण्डारी कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ ।’
सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी थिए ।
त्यस्तै गृहमन्त्री रामबहादुर थापा, एमाले महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, विष्णु पौडेल, नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. शशांक कोइराला, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ पनि सहभागी थिए ।
सर्वदलीय बैठकमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जनकराज शर्मा र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि सहभागी थिए ।
बैठकमा माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई भने सहभागी थिएनन् ।

प्रतिक्रिया