माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७७, ३ चैत्र

काठमाडौं, ३ चैत । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ । संसदीय दलको मंगलबार बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो ।
यस्तै, बैठकले दलको उपनेता र सचेतक भने चयन गर्न बाँकी छ । नेता देव गुरुङका अनुसार राष्ट्रियसभा संसदीय दलको नेतामा पुनः दिनानाथ शर्मालाई नै चयन गरेको छ ।
बैठकले प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका दुई गरी छ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । हाल नेकपा (एमाले)मा रहेका उनीहरूसहित २२ नेतालाई यसअघि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकलेसमेत स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको थियो । सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बदर गरी माओवादी केन्द्र र नेकपा (एमाले) पार्टी नै कायम रहेको फैसला सुनाएपछि दुवै दल पदाधिकारी चलनमा लागेको छ ।
बैठकले गत फागुन २३ गते सर्वाेच्चले गरेको फैसला बेठिक रहे पनि कार्यान्वयन गर्ने निर्णय पनि गरेको नेता पुनले जानकारी दिए । त्यसपछि माओवादी केन्द्रको संसदीय दलको यो पहिलो बैठक हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक कदम चालेको अदालतले फैसला गरिसकेकाले नैतिकरुपमा राजीनामा दिनुपर्ने दलको निष्कर्ष रहेकोसमेत उनले बताए ।
बैठकको शुरुआतमा समसामयिक राजनीतिक विषयमा अध्यक्ष दाहालले संक्षिप्तरुपमा जानकारी गराउनुभएको थियो । बैठकमा जनता समाजवादी पार्टी र नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना रहेको जानकारी गराएको नेता पुनको भनाइ छ ।

प्रतिक्रिया