शांघाईका क्याफेमा ग्राहकको पर्खाइमा सर्प, छेपारा र माउसुलीहरु
अखबार टुडे
प्रकाशित:
२०७७, १ चैत्र
  • पिटर स्टेबिङ र लान लियानचाओ

शांघाई, १ चैत (एजेन्सी) । तपाइँलाई क्याफे भन्नेबित्तिकै दिमागमा कस्तो चित्र आउँछ ? स्वाभाविक रुपमा क्याफेमा थरिथरिका कफी, चिया र हल्काफुल्का खानेकुरा राखिएका हुन्छन् । तर चीनको ठूलो शहर शाङ्घाईमा कतिपय क्याफे भिन्न किसिमका छन्, र तिनीहरुको संख्या बढ्दैछ भने तिनीहरुले बढीभन्दा बढी ग्राहकलाई आकर्षित गर्न थालेको छ ।
के तपाईंले लाट्टे कफी पिउँदै गर्दा रकून (बिरालोजस्तो स्तनपायी जङ्गली जनावर) को बच्चा टुप्लुक्क देखा पर्ला ? अथवा कापुचिनो कफी पिउँदै गर्दा सर्प बेरिन आइपुग्ला ? कुकुर वा बिराला पालिएका क्याफेका कुरा त बिर्सौं, शाङ्घाईका जीवजन्तु क्याफेमा आजभोलि अझ नयाँ अनौठा जङ्गली जीवजन्तु धेरै नै देखिन थालेका छन् ।
विभिन्न जीवजन्तुलाई हेर्दै, छुँदै कफी पिउने पागलपन यहाँका नागरिकमा अझै छ । जङ्गली जीवजन्तुबाट मानिसमा घातक कोरोनाभाइरस सरेको कुरा यहाँ भेला हुने मानिसले अचेल बेवास्ता गर्न थालेको प्रतीत हुन्छ ।
चीनको सर्वाधिक ठूलो शहर शाङ्घाईमा अहिले दर्जनौं यस्ता जीवजन्तु राखिएका क्याफे खुलेका छन् । यी क्याफेमा भेला हुने मानिसले जीवजन्तुसँग फोटो खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।
मध्य शाङ्घाईमा रहेको रकून क्याफेमा आठ वटा स्तनपायी रकून राखिएको छ । सबैभन्दा ठूलो रकूनको तौल करिब १० किलो छ । ग्राहकले चलाउन वा छुन खोजे यो जीव झ्यालको तलमाथि उफ्रिरहन्छ ।
‘मलाई यो जीव अति राम्रो लाग्छ’ २७ वर्षीय भलिबल खेलाडी क्विन सियू भन्छन् । साथीले सामाजिक सञ्जालमा राखेको फोटो हेरेर आफूले क्याफेका बारेमा चाल पाएको उनले बताए ।
ग्राहकले यस क्याफेभित्र छिर्न प्रवेश शुल्क बापत १५ डलर तिर्नु पर्छ तर यो ठाउँ क्याफे नै हो भन्ने विषयमा बहस हुन थालेको छ । रकूनको व्यवहार अनुमान लगाउन सकिँदैन । तातो कफी पिइरहँदा रकूनले एक्कासी झम्टिएर तर्साउन सक्छ । फेरि, यी क्याफेमा मानिसका लागि खानेकुरा पनि खासै धेरै किसिमको पाइन्न ।
क्याफेका सञ्चालक चेङ चेन गत वर्ष आफ्नो क्याफेमा रकून ल्याउँदा त्यसको व्यवहारका बारेमा खासै थाहा नपाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, यो मेरो पहिलो अनुभव थियो । यी रकूनहरु निकै रिसाहा पनि हुन्छन्, उनी भन्छन्, ‘मेरो जिउमा यसले चिथोरेर धेरै ठाउँमा दाग बनाइदिएको छ ।’
यी ३६ वर्षीया क्याफे सञ्चालिका चेङलाई पनि मानिसले रकून किन पालेको भनेर प्रश्न गर्ने गरेको बताउँछन् । उनको विचारमा मानिसले प्रश्न गर्नु स्वाभाविक हो किनभने यहाँ कुकुरलाई दिइने खानेकुरा खान दिइन्छ ।
चेङलाई जीवजन्तु पाल्ने पहिल्यैदेखि निकै ठूलो सोख थियो र उनका घरमा धेरैवटा कुकुर र बिराला छन् । उनलाई रकूनको पनि औधी माया लाग्छ । ‘सामान्यतया यहाँ कुनै ठोस नियम छैन । साँचो भन्नुपर्दा खासगरी चीनमा घरमा पालिने जीवजन्तु सम्बन्धी नियमहरु निकै कमजोर छन्’ उनले भने ।
शांघाईकै अर्को क्याफेमा सर्पहरु, छेपाराहरु र रंगीचंगी माउसुलीले ग्राहकलाई खुशी तुल्याउन प्रतिक्षा गरिरहेका छन् । यस क्याफेका सञ्चालक वाङ लिक्वुनको यस क्याफेमा ३० वटा सर्प छन् । यी सर्पहरुमा विष हुँदैन, तर यिनीहरुले मानिसलाई टोक्न सक्छन् । वाङको भनाईमा आजसम्म कुनै पनि ग्राहकलाई यी सर्पले डसेका छैनन् ।
टाङ नाम गरेकी एक ग्राहकले क्याफेले मानिसलाई आफूमा रहेको डर भगाउन मद्दत गरेको बताउनुभयो । २७ वर्षीया ती ग्राहकले भने, ‘यहाँ आएपछि मानिसले आफ्नो सोचाईमा परिवर्तन पाउन सक्छन् र सरिसृप प्रजातिका जीवजन्तु साँच्चिकै मायालाग्दा हुँदा रहेछन् ।’
तर विश्व जीव संरक्षणसँग आबद्ध वैज्ञानिक इभान सनले यी क्याफेप्रति आफूलाई निकै शंका लागेको बताए । ‘यी क्याफेमा जीवजन्तुको अवस्था निकै दयनीय हुने गर्दछ, र तिनीहरुले भयानक पीडा र दबाब महसुस गरेका हुन्छन् ।’
चीनका लागि वन्यजन्तु अभियानका व्यवस्थापक समेत रहनु भएका सनले भने, ‘वन्यजन्तुसँग निकट अन्तक्र्रियाले पीडा र क्रुरता मात्र बढाउने होइन, यसले रोग पनि निम्त्याउँछ र मानिसमा सार्न सक्छ । जीवजन्तु राखिएका क्याफे जाने अधिकांश ग्राहक प्राणीलाई मन पराउनेहरु नै हुन्छन्, तर उनीहरुलाई जीवजन्तुको खानेबस्ने तौरतरिकाका बारेमा खासै जानकारी नहुने भएकाले मानिसलाई अप्रत्यक्ष असर पारिरहेको हुन्छ ।’

प्रतिक्रिया