माओवादी केन्द्रका तर्फबाट मन्त्री रहेकाहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७७, १ चैत्र

काठमाडौं, १ चैत । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सामेल मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । आइतबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुलाई मन्त्री पदत्याग गरि सरकारबाट फिर्ता हुन निर्देशन दिएको हो ।
बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले माओवादी छाडेका नेतालाई समेत पार्टी परित्याग गरेको हो वा होइन स्पष्टीकरण दिन भनिएको सञ्चारकर्मीलाई जानकारी गराए । प्रवक्ता श्रेष्ठले भने, ‘हिजो हाम्रो पार्टीको केन्द्रीय कार्यालयले प्रस्ताव गरेअनुसार आजको केन्द्रीय कमिटीको बैठकले हाम्रो पार्टीको तर्फबाट अहिलेसम्म पनि मन्त्री पदमै रहनुभएका कमरेडहरुलाई मन्त्री पद त्याग गरेर सरकारबाट फिर्ता हुने कुरालाई केन्द्रीय कमिटीले पनि औपचारिक रुपमा निर्णय गरेको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति र आगामी दिनको कार्यभारको सम्बन्धमा रिपोर्टिङ गर्नुका साथै नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताको मर्ममाथि कसरी प्रहार भयो र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा मन्तव्य रिपोर्टिङ गरेका थिए ।
बैठकमा पार्टी संगठनको अवस्थाको सम्बन्धमा १ नम्बर प्रदेशबाट सह इन्चार्ज मायाप्रसाद काफ्ले, २ नम्बरबाट सह इन्चार्ज विश्वनाथ शाह, बागमती प्रदेशबाट अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशबाट अध्यक्ष हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशबाट सचिव मायाप्रसाद काफ्ले, सुदूरपश्चिम प्रदेशबाट सचिव नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए ।
उपत्यका विशेष मिटीको तर्फबाट इन्चार्ज लीलामणि पोखरेल, प्रदेश सम्पर्क समन्वय कमिटीको तर्फबाट अध्यक्ष प्रल्हाद बुढाथोकी र प्रवास समन्वय कमिटीको तर्फबाट अध्यक्ष युवराज चौलागाईंले रिर्पोटिङ गरेका थिए ।

प्रतिक्रिया