एमालेमा कलह : पार्टी विभाजनमा गएको माधव पक्षको निष्कर्ष
अखबार टुडे
प्रकाशित:
२०७७, २९ फाल्गुन

काठमाडौं, २९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल पक्षले पार्टी विभाजनतिर गएको निष्कर्ष निकालेको छ ।
पार्टी एकीकृत हुँदाको अन्तरसंघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र योबीचमा पार्टी अध्यक्ष केपी ओलीले गरेको व्यवहारले एमाले पार्टी एक भएर जान नसक्ने नेपाल पक्षले निष्कर्ष निकालेको हो ।
शनिबार नेपाल पक्षको सांसदसहित केन्द्रीय समितिको बैठकले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले शुक्रबार चालेको कदमपछि उत्पन्न परिस्थितिका विषयमा गम्भीर छलफल गर्दै अब एमाले एक हुन नसक्ने निष्कर्षमा पुगेको हो ।
छलफलका क्रममा नेपाल पक्षका सांसदसहित केन्द्रीय सदस्यहरुले ओली प्रवृत्तिविरुद्ध लड्न आफूहरु तयार रहेको भन्दै सांसद पद गुमे पनि केही फरक नपर्ने धारणा राखेका थिए ।
यसैक्रममा नेपाल पक्षले समानान्तर कमिटि गरेको छ । जसमा प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ । त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग अनौपचारिक कुराकानी गर्दै वरिष्ठ नेता नेपालले अब ओलीसँग फर्किने कुनै सम्भावना नरहेको बताए । उनले भने, ‘अब ओलीसँग फर्किने सम्भावना छैन । फागुन ७ मा ओलीले बोलाएको बैठकमा पनि गइन्न । जेठ २ गते एमालेको जुन संरचना थियो । त्यो तलमाथि हुनुभएन । अब अलग अलग ढंगले जान्छौँ ।’
उनले देशभरबाट नेता कार्यकर्ताले आफूहरुलाई साथ दिने बचन दिएको उल्लेख गर्दै नेपालले ग्राउण्ड लेबलसम्म आफूहरुको पक्षमा माहोल रहेको पनि दावी गरे । उनले भने, ‘सांसदहरुले लोगो छुटाउन तयार छौं तर साथ छाड्दैनौँ भनेर भन्नुभएको छ । आज पनि केन्द्रीय समिति बैठकमा ४० सांसद उपस्थित हुनुभयो । चमत्कार नै भएमात्रै नत्र ओलीसँग अब सहकार्य हुँदैन ।’
नेता नेपालले सर्वोच्चको फैसलासँगै एमाले ब्यूँतिएपछि पनि ओलीले सम्बन्ध सुधारमा कुनै पहल नगरेको नेपालले आक्रोश पोखे । ‘सर्वोच्चले फैसला गरिसकेपछि केपी ओलीले फोन गरेर छलफल गर्नुहुन्छ भन्ने अपेक्षा थियो । उल्टै हिजो जसरी निर्णय गर्नुभयो लगभग सहमतिको बाटो बन्द भएको छ’, उनले भने, ‘केपी ओलीलाई ठेगान लगाउन आउनुुभयो भने तपाईको खुुट्टामा बाटोमै ठेस लाग्छ ।’ दुुई तिहाई बहुमत प्राप्त पार्टी भत्काएर टालाटुलीको सरकार बनाउन केही व्यक्तिहरु कुदेका कारण आजको अवस्था निम्तिएको उनले बताए ।

प्रतिक्रिया