म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति
अखबार टुडे
प्रकाशित:
२०७७, २९ फाल्गुन

वासिङ्टन, २९ फागुन (एजेन्सी) । अमेरिकाले राजनीतिक संकटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ ।
म्यान्मारमा गत फेबु्रअरी १ मा सेनाले सत्ताविद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो ।
‘सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय संकट पैदा भएको छ, त्यसैले हामीले उनीहरुलाई अमेरिका बस्न अस्थायी अनुमति दिन लागेका छौँ’ गृहमन्त्री अलेजान्द्रो मायोर्कासले भने ।
सरोकारवाला निकायहरुसँग परामर्श गरेर मन्त्रालय सो निर्णयमा पुगेको पनि उनले जानकारी दिए । ‘म्यान्मारमा भइरहेको आन्दोलन र अशान्तिका कारण कसैले म्यान्मार छोडेर केही समयका लागि अमेरिका आउन चाहन्छन्, वा अमेरिकामा रहेका तर म्यान्मार फर्किन चाहेका छैनन् भने उनीहरुलाई केही समय संरक्षकत्व दिन सकिन्छ’ उनले भने ।
यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेहरुलाई लागू हुने निर्णय भएको पनि गृहमन्त्री मायोर्कासले जानकारी दिए । म्यान्मारमा भएको सैन्य विद्रोहप्रति अमेरिका सहित विश्वका धेरै देशहरुले आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्था कायम गर्न आह्वान गरेका छन् ।

डेढ महिनादेखि भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ६० जनाको मृत्यु भएको छ भने एक हजार ८०० भन्दा बढी गिरफ्तार भएका छन् तर आन्दोलन जारी छ ।

प्रतिक्रिया