उफ्रने उफ्रिँदै गर्छन्, हामी काम गछौँ : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७७, २९ फाल्गुन

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालमा विकास र निर्माणमा नेपालले युगान्तकारी परिवर्तन भएको बताएका छन् । शनिबार अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सुखी नेपाली, समृद्ध नेपाल नारालाई सार्थक तुल्याउन लाग्दा आफ्नो खुुट्टा तान्ने कोसिस भएको समेत बताए । उनले भने, ‘हाम्रो विकासको गतिलाई कोभिड–१९ ले पनि रोक्न सकेन । हाम्रो विरोधीहरु र खुट्टा तान्नेहरुले पनि रोक्न सकेनन् । तर, हाम्रो पार्टीलाई बदनाम गराउने, हाम्रो पार्टीको चरित्रहत्या गर्ने कामहरु भए । देशलाई अस्थिरतातर्फ धकेल्ने स्थिरता हुन नदिने विकासको क्रममा बढ्न नदिने काम भए ।’
प्रधानमन्त्री ओलीले भने, ‘उफ्रने उफ्रिँदै गर्छन्, कराउँदै गर्छन् उजूरी लिएर अदालततिर, निर्वाचन आयोग कुद्दै गर्छन्, हामी काम गर्दै गर्छौँ ।’ उनले झगडियाले मुद्दा गर्ने बताउँदै कार्यकर्ताहरु देश बनाउने काममा लाग्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले देशमा प्रतिक्रियावादीका शक्तिहरुले देशको राजनीतिको मूल दिशा नै विगार्न खोजिरहेका छन् । नेता कार्यकताका प्रगति मनोवृति भनेको देश र जनताका लागि हुनुपर्छ । तर, संसद विघटन गरेर नयाँ जनादेशमा जाने घोषणा गर्दा संविधान रहदैन भन्यो, लोकतन्त्र रहँदैन भन्यो । चुनावमा जाँदा लोकतन्त्र हराउँछ ? संविधान च्यातिन्छ ?’
अरू व्यक्तिहरू प्रधानमन्त्रीका लागि आवेदन हाल्दै हिँडेको आरोप लगाउँदै उनले आफ्नो पार्टी त्यसो नगर्ने बताए । उनले भने, ‘हामी कसैकहाँ निवेदन हाल्न जाँदैनौँ किनकि, हामीबाहेक अरू कुनै पार्टी र नेता त्यसको लायक छैन ।’
उनले अब राष्ट्रिय आकांक्षा पूरा गर्न केही समय नलाग्ने बताउँदै भने, ‘यिनले खुट्टा तान्दै गर्छन् हामी देशका लागि काम गर्दै गर्छौँ ।’ उनले नेपालले गरिब देश हुँदाहुँदै पनि अन्य समृद्ध देशको दाँजोमा कोभिड–१९ महामारी व्यवस्थापनमा उत्कृष्ट काम गरेको दाबी गरे ।
सोही अवसरमा उनले केही दिनभित्रै धारा–धारामा मेलम्चीको पानी वितरण हुने बताए । ‘कतिपयलाई लागिसकेको थियो कि मेलम्चीको पानी आउँदैन । हामी निरन्तर अघि बढिरहेका छौँ’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले मेलम्चीको पानी काठमाडौंमा खसाल्यौं, बागमतीमा बगिरहेको देख्नुुभएको छ । केही दिनभित्रै धारा–धारामा पानी आउनेछ ।’

प्रतिक्रिया