‘हामीलाई कला फिर्ता देऊ जाँ’ भन्दै अभिनेत्रीद्वारा नग्न प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०७७, २९ फाल्गुन

काठमाडौं, २९ फागुन (एजेन्सी) । एक फ्रान्सेली अभिनेत्रीले फ्रान्समा आयोजित ‘सेसर अवार्ड्स’ भनिने पुरस्कार वितरण समारोहमा कोरोनाभाइरस महामारीका बेला सरकारले संस्कृतिलाई टेवा पु¥याउन थप सहयोग गर्नुपर्ने माग गर्दै नग्न विरोध प्रदर्शन गरेकी छन् ।
५७ वर्षीया अभिनेत्री कोरिन मासियरो ओस्करको फ्रान्सेली संस्करण मानिने उक्त समारोहमा रगत लतपतिएको लुगाबाहिर गधाको मुखौटोयुक्त पहिरनसहित मञ्चमा पुगेकी थिइन् । फ्रान्समा तीन महिनाभन्दा बढी समयदेखि सिनेमा घरहरू बन्द छन् ।
उत्कृष्ट फिल्म पुरस्कार अल्बेयर डुपोन्टेलको त्रासदीपूर्ण हास्य चलचित्र ‘अडेयु लेस कन्स’ अर्थात् मूर्खहरूलाई बाइबाइ भन्ने चलचित्रले पाएको थियो । गम्भीर रोग लागेकी महिलाले आफ्नो बच्चाको व्यग्र खोजी गरेको सिनेमाले सातवटा सेसर पुरस्कार प्राप्त गरेको थियो । त्यसमध्ये एक सबैभन्दा राम्रो निर्देशन पुरस्कार पनि थियो ।
मासियरोलाई शुक्रबार सामाजिक दूरी कायम गरी आयोजना गरिएको समारोहमा ‘बेस्ट कस्ट्यूम’ अर्थात् सबभन्दा राम्रो पोसाक शीर्षकमा दिइने पुरस्कार प्रदान गर्न निम्त्याइएको थियो । समारोहमा सहभागी हुन लगाएको बाहिरी पोसाकमा ‘संस्कृति छैन त भविष्य छैन’ भन्ने नारा लेखिएको थियो । तर, मञ्चमा पुगेपछि मासियरोले सबै लुगा फाल्दै उपस्थित पाहुनालाई स्तब्ध पारिदिएकी थिइन् ।
फ्रान्सका प्रधानमन्त्री जाँ कास्टेक्सलाई प्रत्यक्ष सम्बोधन गर्दै उनको पिठिउँमा नारा लेखिएको थियो, ‘हामीलाई कला फिर्ता देऊ जाँ ।’
अरू नायक र निर्देशकले पनि कार्यक्रममा त्यस्तै माग गरेका थिए । ‘हाम्रा छोराछोरी कपडाको पसल जान पाउने तर सिनेमा जान नपाउने ‘यो बुझिनस्कनु भयो’ स्टेफन डीमस्टियरले ‘स्क्रीनप्ले’ पुरस्कार थाप्दै भने । सांस्कृतिक प्रदर्शनीस्थलहरू बन्द गरेको विरोधमा गत डिसेम्बरमा सयौँ अभिनेता, नाट्य निर्देशक, संगीतकार, फिल्म प्राविधिक र आलोचकले प्यारिसमा विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया