सत्ता समिकरणबारे जसपामा विवाद, संसदीय दलको नेता अझै चुनिएन
अखबार टुडे
प्रकाशित:
२०७७, २८ फाल्गुन

काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी (जसपा)को शुक्रबार बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने अपेक्षा गरिएपनि आन्तरिक विवादका कारण उक्त विषयलाई थाँती राखिएको छ । जसपाका एक नेताका अनुसार सत्ता समिकरणबारे कुरा नमिल्दा दलको नेता चयन हुन नसकेको हो ।
नयाँ सत्ता समीकरणका लागि निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा रहेको जसपाले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन । सोही क्रमकमा शुक्रबार संसदीय दलको नेता चयन गर्ने भनिएको थियो । संसदीय दलको नेताका लागि महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई आकांक्षी छन् ।
बैठकमा संसदीय दलको विधानसमेत प्रस्तुत भएको छ । विधान अध्ययन गरी अर्को बैठकमा यसलाई पारित गर्ने जनाइएको छ ।

जसपा नेपालले विकसित राजनीतिक परिस्थितिका बारेमा दलहरूसँग छलफललाई निरन्तरता दिने भएको छ । संसदीय दलको बैठकले दलहरूसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको हो ।
पार्टीका नेता राजेन्द्र श्रेष्ठका अनुसार जसपा नेपालले शुक्रबार नै नेपाली काँग्रेससँग छलफल गर्दैछ । अब काँग्रेस–एमालेसँग जसपाको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गर्ने उनको भनाइ छ । तर, जसपाको महन्थ ठाकुर समूह भने केपी ओली नेतृत्वको सरकारमा जान खोजिरहेको बताइन्छ ।

प्रतिक्रिया