चिनान्डेगा शहर धुलोले दिउँसै अँध्यारो
अखबार टुडे
प्रकाशित:
२०७७, २६ फाल्गुन

मानागुवा, २६ फागुन (एजेन्सी) । मध्य–अमेरिकी राष्ट्र निकारागुवाको सबैभन्दा अग्लो ठाउँ सान क्रिस्टोबलमा ज्वालामुखी बिस्फोट हुँदा चिनान्डेगा शहर र त्यसको आसपासको क्षेत्रको आकाश धुँवा र धुलोले ढाकिएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार मंगलबारको उक्त बिस्फोट निकै शक्तिशाली रहेको र आकाशमा धुँवा र खरानीजस्तै धुलो १७ किलोमिटरसम्म फैलिएको थियो । सान क्रिस्टोबलमा सामान्यतया वर्षैभरि ज्वालामुखी सक्रिय हुने गर्दछ ।
स्थानीय पत्रकार कारोल अल्टामिरानोले धुँवा र धुलोका कारण किसानको धान, तरकारी र फलफूल तथा गाईबस्तुका चरन सबै खैरो धुलोले ढाकिएको जानकारी दिए । इनेटर अध्ययन इन्स्टिच्यूटले ज्वालामुखीको तिब्रता आगामी दिनमा घट्ने र जनजीवनमा त्यति खतरा उत्पन्न नहुने बताएको छ ।
यसपटकको ज्वालामुखी बिस्फोटबाट करिब ३० मिनेटसम्म धुँवा र धुलो आकाशमा आएको थियो । सडकमा गुडिरहेका सवारी साधनले प्रकाश मधुरो भएपछि दिउँसै बत्ती बाल्नु परेको थियो ।
किसानहरुले पानीका स्रोतलाई छोप्नुका साथै गाईबस्तुलाई सुरक्षित स्थानमा लगेका थिए । शहरमा मानिसले छाता ओढ्ने, टोपी लगाउने र अनुहारमा मास्क लगाउने गरेका थिए ।
करिब एक हजार ७४५ अग्लो सान क्रिस्टोबलको ज्वालामुखी क्षेत्र मध्य अमेरिकी क्षेत्रको सातौं हो । यो क्षेत्र राजधानी मानागुवादेखि उत्तरपश्चिम करिब १३२ किलोमिटर टाढा चिनान्डेगा क्षेत्रमा रहेको छ ।

प्रतिक्रिया