किराती र तिवारीको पार्टी खोसियो !
अखबार टुडे
प्रकाशित:
२०७७, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । गोपाल किरातीको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले खोसिएको छ ।
निर्वाचन आयोगले साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वोच्च अदालतले मान्यता नदिई पूर्वपार्टीकै हैसियतमा कायम गरिदिएपछि पछि दर्ता भएका किराती र तिवारीको पार्टीलाई खोसिएको हो ।
आयोगको मंगलबार बसेको बैठकले किरातीको पार्टीको नाम र चुनाव चिह्न नरहेको भन्दै १५ दिनभित्र पार्टीको नयाँ नाम र चुनाव चिह्न पेश गर्न समेत आग्रह गरेको छ ।
तिवारीलाई भने आयोगले पार्टीको नयाँ नाम पेश गर्न भनेको छ र उनको पार्टीको चुनाव चिह्न कायम राखेको छ । एमाले र माओवादी केन्द्र एकीकरण भएपछि ती दुवै नाम खाली भएका थिए ।
खाली भएपछि किरातीले आफ्नो नाममा नेकपा माओवादी केन्द्र दर्ता गर्दा गोलाकारभित्रको हसिया हथौडा चुनाव चिह्न राखेका थिए, जुन नेकपा माओवादी केन्द्रकै चुनाव चिह्न थियो ।
यसैबीच आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई पार्टी एकीकरण गर्ने भएका १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

प्रतिक्रिया