‘अधिनायकवाद लाद्ने प्रतिक्रियावादीको गुरुयोजना असफल’
अखबार टुडे
प्रकाशित:
२०७७, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषि कट्टेलले सर्वोच्चको फैसलाले दुईदलीय अधिनायकवाद लाद्ने प्रतिक्रियावादीको गुरुयोजना असफल भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको आधिकारिताबारे सर्वोच्च अदालतले फैसला सुनाएको तीन दिनपछि मंगलबार विज्ञप्ति जारी गर्दै उनले फैसलाको स्वागत गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘विसर्जनवादमा पतन भएका एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीले कथित शक्तिको उन्मादमा उनीहरू आफैँले बनाएको संविधान र कानुनविपरीत निरंकुश सर्वसत्तावाद लाद्न खोजेका थिए,’ अध्यक्ष कट्टेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदवादी पूँजीवादीमा पतन भएका कथित कम्युनिष्ट नामधारी पार्टीले प्रतिक्रियावादीको कथित दुई दलीय अधिनायकवाद लाद्ने गुरूयोजना अन्तर्गत एकतावद्ध गरिएको प्रपञ्च एक हदसम्म यो निर्णयले असफल पारिदिएको छ ।’
उनले यसले समाजमा रहेको वर्गीयलगायतका शोषण र विभेदका विरूद्ध संघर्ष गरिरहेका वर्ग समुदाय तथा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएका देशभक्तहरूमा उत्साह थपेको समेत दावी गरेका छन् । पार्टीको साखमा वृद्धि भएको तथा नीति, विचार, सिद्धान्त थप प्रचारित हुने मौका पाएको उनको भनाइ छ ।

प्रतिक्रिया