कर्णालीमा बेपत्ता पाँच जनामध्ये चारको शव फेला
अखबार टुडे
प्रकाशित:
२०७७, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । कर्णाली नदीमा सोमबार बेपत्ता भएका एकै परिवारका पाँच जनामध्ये ४ जनाको शव भेटिएको छ । एकजनाको अझै बेपता छन् ।
तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी दैलेख आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । आमा–छोराको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा मंगलबार (आज) १२ बजेतिर भेटिएको दैलेख प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए ।
१६ वर्षीया छोरी कल्पना र १२ वर्षीया छोरी सरिता बडुवालको शव सोमबार नै फेला परेको थियो । प्रहरीका अनुसार आमा, दुई छोरी र एक छोराको शव भेटिएको स्थाननजिकै छ ।
५ वर्षीया छोरी रजनी बडुवालको अवस्था भने अझै अज्ञात छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा दैलेख र अछामको प्रहरी र गोताखोरको टोली खटिएको छ । स्थानीयका अनुसार सोमबार दिउँसो ४ बजेको समयमा सुकी छोराछोरीसहित निस्किएकी थिइन् । तर साँझ अबेरसम्म घर नआएपछि खोजी गर्दा सोमबार नै दुई छोरीको कर्णालीमा शव फेला परेको थियो ।
मृतक सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थालेको छ ।

प्रतिक्रिया