काठमाडौं, २५ फागुन । नेकपा एमाले र नेकपा माओवादी पूर्ववरत अवस्थामा फर्किएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुरक्षित भएका छन् । पार्टी एकीकृत रहेका बेला उनी अल्पमतमा परेका थिए । तर, अहिले प्रदेशसभामा रहेको एमाले सदस्य संख्यामा बहुमतमा पुगेसँगै राईको नेतृत्वको सरकार सुरक्षित बनेको हो ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै प्रचण्डले नेकपा माओवादी केन्द्र ब्युँताउने र माधवकुमार नेपाल नेकपा एमालेमै फर्कने निर्णय भएसँगै राई नेतृत्वको सरकार सुरक्षित भएको हो ।
नेकपाका बहुमत प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री राईविरूद्ध प्रदेशसभा सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावका कारण अन्यौलग्रस्त बनेको प्रदेशसभाको गणितमा सर्वोच्चको आदेशपछि फेरबदल आएको छ ।
अब प्रदेश १ मा एमाले ५१ जना प्रदेशसभा सदस्यसहित सुविधाजनक बहुमतमा पुगेको छ । जसले गर्दा मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार पनि अब सुरक्षित हुने भएको छ ।
प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा अब नेपाली कांग्रेस २१ सिटसहित प्रमुख प्रतिपक्षमै रहनेछ भने नेकपा माओवादी केन्द्र तेस्रो ठूलो दलको रूपमा १६ सिटसहित प्रतिपक्षमा रहनेछ ।
प्रदेशसभामा जनता समाजवादी पार्टीको ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक÷एक सिट छ । प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री केपी ओलीको कदमसँगै नेकपा विभाजनतिर लम्केको थियो । सोही क्रममा पुस १२ गते मुख्यमन्त्री राईविरूद्ध प्रदेशसभा सचिवालयमा ३७ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।