पेरिसडाँडामा पनि फेरियो बोर्ड, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
अखबार टुडे
प्रकाशित:
२०७७, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । नेकपाकोे केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि साइनबोर्ड फेरिएको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड हटाएर नेकपा (माओवादी केन्द्र)को बोर्ड राखिएको हो ।
सर्वोच्च अदालतले दुई पार्टी एकतापछिको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर पूर्ववत अवस्थामै फर्कँन आदेश दिएसँगै एमाले र माओवादीले आफ्नो कार्यलयमा बोर्ड परिवर्तनको लहर चलेको छ । मंगलबार नै धूम्बाराहीस्थित नेकपा पार्टी कार्यलयमा एमालेको बोर्ड राखिसकिएको छ ।
यसैबीच नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । अहिले दिउँसो एक बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए । सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको पहिलोपटक हो ।

प्रतिक्रिया