कोमल वलीद्वारा रघुजीविरुद्ध गाली बेइज्जती मुद्दा दायर,
अखबार टुडे
प्रकाशित:
२०७७, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले एमालेकै नेता रघुजी पन्तविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेकी छन् ।
नेता पन्तविरुद्ध आफूलाई यौन हिंसाजन्य गाली बेइज्जती गरेको भन्दै सांसद वली अदालत पुगेका हुन् । केही समयअघि एक सार्वजनिक कार्यक्रममा नेता पन्तले पिडुँला देखाएको भरमा सांसद भएको जस्ता आपत्तिजनक शब्द बोलेका थिए । उक्त अभिव्यक्तिको सार्वजनिक रुपमा व्यापक आलोचना भएपछि उनले माफी समेत मागेका थिए ।
वलीले आफ्नो उजुरीमा भनेकी छन् । ‘राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मलाई प्रतिनिधिपात्र बनाइ समग्र महिलाप्रति नै अपमान हुनेगरी अभिव्यक्ति दिनु भनेको महिलाविरुद्धको जघन्य हिंसा हो ।’

प्रमाणित भए यस्तो छ कारबाही
मुलुकी अपराध संहिता २०७४, २०७४ को दफा ३०५, ३०६, ३०७ मा यस्तो छ व्यवस्थाः
मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ अनुसार पन्तलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । तर वलीले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेको हुँदा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना माग गरेकी छन् । वलीले उचित क्षतिपूर्तिसहित मुद्दामा लागेको खर्चसमेत पन्तबाट भराउन पनि माग गरेकी छन् ।

प्रतिक्रिया