नेपाल खबर

तेजाब आक्रमणमा संलग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनु हुन्न : प्रधानमन्त्री

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणमा संलग्नलाई कारबाहीका लागि जारी भएको अध्यादेशलाई संसद्मा प्रवेश नदिने नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रयास गलत भएको बताएका छन् ।
सोमबार १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनबाट ताजा जनादेश लिएर राष्ट्रनिर्माणमा होमिने सदाशयबाट प्रेरित आफ्नो निर्णयविरुद्ध मुद्दा दायर गरी संसद् पुर्नस्थापना गराइएपनि जनताका मुद्दामा छलफल गर्ने थलोमा तेजाब आक्रमणकारीलाई नियन्त्रणसम्बन्धी अध्यादेशलाई अगाडि बढाउन नदिइएकामा आपत्ति जनाए ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्तापक्षका केही र प्रतिपक्षका सांसद्ले अध्यादेशहरु कार्यसूचीमा ल्याएकामा विरोध जनाएका थिए । उनले महिलालाई शिक्षा, रोजगारी र सम्पत्ति प्राप्तिमा सशक्त तुल्याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउँदै नारी जगतको उत्थान र उन्नयनतर्फ नै सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताए । महिलालाई सबल, सक्षम र सशक्त बनाउन उनीहरूलाई नीति निर्माणको तहमा पु¥याइने उनको भनाइ छ ।
महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्नेतर्फ सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै उनले महिलालाई विकासको मूल प्रवाहमा समाहित गर्न र पुरुष समान बनाउन आरक्षणको व्यवस्था गरिएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘महिलामाथि हुने भेदभाव असभ्यता हो, महिलामाथि गरिने असभ्य व्यवहार दण्डनीय छ, असमानता र विभेदको अन्त्य गर्न सरकार लागिपरेको छ ।’
लोकतन्त्र, सामाजिक न्याय, असमानता, उत्पीडन, शोषणविरुद्ध नेपाली नारीले उठाएका आवाजको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् भन्ने मनुस्मृतिको प्रसंग सुुनाउँदै नारीको सम्मानबाट हामी चुक्नु नहुने बताए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top