पूर्वएमाले र माओवादी केन्द्र पूर्ववतरुपमा ब्यूँताउन सम्भव छ ?
अखबार टुडे
प्रकाशित:
२०७७, २४ फाल्गुन

काठमाडौं, २४ फागुन । सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकता खारेज गरिदिएपछि निर्वाचन आयोगले दुवै पार्टीलाई पूर्ववतरुपमा ब्युँताउँदैछ ।
सर्वोच्चको आदेश आइतबार नै आयोगमा दर्ता भइसकेको आयोगले जानकारी दिएको छ । फैसला दर्ता भएसँगै आयोगले पूर्वएमाले र माओवादी केन्द्र ब्युँताउने प्रक्रिया थालेको हो ।
सर्वोच्चको आदेशअनुसार पूर्वएमाले र माओवादी केन्द्र ब्युँताउन आयोगमा ती नाम खाली हुनुपर्छ । अहिले नेकपा एमाले र माओवादी केन्द्र अर्कैका नाममा दर्ता भएकाले पूर्वएमाले र माओवादी केन्द्रलाई ब्युँताउन पनि पार्टीको नाम परिवर्तन गर्नु पर्नेछ । आफ्नो नाममा ती पार्टी दर्ता गरेका र पूर्वएमाले र माओवादी केन्द्रलाई मंगलबार पत्र पठाउने आयोगको तयारी छ ।
आयोग स्रोतका अनुसार मंगलबार चारवटै पार्टीलाई सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्ने बारे पत्र पठाउने तयारी आयोगले गरेको छ । आयोगले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई दल फेरि दर्ता गर्नुपर्ने भएकाले अभिलेखसहित आउनू भन्ने बेहोराको पत्र पठाउँदै छ ।
यस्तै, गोपाल किराँतीको पार्टीको नाम र चुनाव चिन्ह (गोलाकारभित्र हसियाँ हथौडा) अर्को पार्टीसँग मिलेकाले परिवर्तन गर्नुपर्ने र सन्ध्या तिवारीलाई नाममात्रै अर्को पार्टीसँग मिलेकाले परिवर्तन गर्नुपर्ने बेहोरोको पत्र पठाउने छ । तिवारीले आफ्नो नाममा नेकपा (एमाले) दर्ता गरेकी छन् भने चुनाव चिन्ह उदाउँदै गरेको सूर्य छ ।
राष्ट्रिय सभाका सांसद तथा अधिवक्ता रामनारायण बिडारीका अनुसार नेपालको संविधानअनुसार निर्वाचन आयोगमा दर्ता भइसकेका कुनै राजनीतिक दलको दर्ता खारेज गर्न पाइँदैन । त्यसैले पनि पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई ब्यूँताउन त्यति सहज छैन । संविधानको त्यही मर्मअनुसार तिवारी र किराँतीमध्ये एक जनाले अदालतको ढोका ढक्ढक्याए भने पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिने÷नब्युँतिने कुरा फेरि सर्वोच्चको फैसलामा भर पर्नेछ ।

प्रतिक्रिया