आज के हुन्छ ? अपरान्ह चार बजे संसद बैठक बस्दै
अखबार टुडे
प्रकाशित:
२०७७, २३ फाल्गुन

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभाको सातौँ अधिवेशन आज (आइतबार) सुुरु हुुँदैछ । अपरान्ह चार बजे संसद बैठक बस्ने लागेको हो ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएपछि आजबाट पुनःस्थापित संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ ।
नेकपा दुई भागमा विभाजित बनेको छ । तर, औपचारिक रुपमा भने विभाजित भएको छैन । नेकपाका दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरिसकेको छ । आज बस्ने संसद बैठकलाई निकै चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओली भने विश्वासको मत नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने रणनीतिमा छन् । यसले आज सांसदबीच मुडभेड हुने सम्भावना समेत रहेको छ ।
यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन हुनेछ । त्यसपछि राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पनि वाचन गरिने कार्यक्रम रहेको छ ।
संसद सचिवालयले आज हुने सम्भावित कार्यक्रमका सूची तयार पारेको छ । बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् ।
यस्तै राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाईने कार्यसुची छ । अनि सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिनेछ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।
यसबीच वर्तमान तथा पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पेस गर्नेछ । तर बैठक सुरु हुनुअघिसम्म सम्भावित कार्यक्रम थपघट हुन सक्ने संसद् सचिवालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया