मेलम्चीको खोलाको पानी काठमाडौं आइपुग्यो
अखबार टुडे
प्रकाशित:
२०७७, २२ फाल्गुन

काठमाडौं, २२ फागुन । मेलम्ची खोलाको पानी काठमाडौं आइपुगेको छ । शनिबार काठमाडौको सुन्दरीजलसम्म आइपुगेको हो । २७ किलोमिटर सुरुङमार्ग हुँदै सुन्दरीजलमा पानी आइपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अवलोकन गरेका छन् । यसअघि पहिलोपटक १० फागुनमा बाँधस्थलबाट सुरुङमा परीक्षणका गरिएको थियो ।
काठमाडौं उपत्यकाबासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी शनिवार साँझ सुन्दरीजल पुगेपछि पानी संकलन तथा प्रशोधन केन्द्रको समेत प्रधानमन्त्री ओलीले अवलोकन गरेका छन् ।
मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा गरेको कार्यक्रममा उनले मेलम्चीबाट आएको पानी स्विच थिचेर सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पठाएका छन् । बालुवाटारमा पार्टी संसदीय दलको बैठक सकेर प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यसहित सुन्दरीजल पुगेका थिए ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री मणि थापा, मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्री लगायत सुन्दरीजल पुगेका थिए । सुन्दरीजल पुगेर शुरुमा सुरुङको अवलोकन गरेका प्रधानमन्त्री ओलीले पानी प्रशोधन केन्द्र हेरे, त्यसपछि मेलम्चीबाट आएको पानी प्रशोधन केन्द्रमा छोड्नका लागि कन्ट्रोल प्यानलको स्विच थिचेका थिए ।
मेलम्चीबाट अब दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले अस्थायी बाँधबाट सुरुङमा पानी हालिएको र २ महिनाभित्र स्थायी बाँधबाट पानी पठाइने जनाएको छ । साढे ८ करोड लिटर पानी प्रशोधन क्षमतामा पानी प्रशोधन गरेर काठमाडौंमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले बताएका छन् ।

प्रतिक्रिया