चीनले हङकङका ‘लोकतान्त्रिक संस्थामाथि आक्रमण’ जारी राखेको भन्दै अमेरिकाद्वारा निन्दा
अखबार टुडे
प्रकाशित:
२०७७, २२ फाल्गुन

काठमाडौं, २२ फागुन । हङकङका लोकतान्त्रिक संस्थामाथि आक्रमण जारी राखेको भन्दै संयुक्त राज्य अमेरिकाले चीनको निन्दा गरेको छ । बेइजिङले हङकङमा निर्वाचन प्रणाली बदल्ने योजनाहरू घोषणा गरेपछि अमेरिकाले आलोचना गरेको हो ।
चीनको न्याश्नल पिपुल्स कंग्रेस एनपीसीले शुक्रबार त्यससम्बन्धी योजनाहरू सार्वजनिक गरेका थिए । जसमध्ये एउटा प्रस्तावमा हङकङको एसेम्ब्लीमा उठ्ने सबै उम्मेदवारलाई बेइजिङप्रति वफादार समितिका सदस्यहरूले अनुमोदन गर्नुपर्ने हुन्छ । चीनले हङकङमा गत वर्ष कडा राष्ट्रिय सुरक्षा नीति ल्याएको पृष्ठभूमिमा निर्वाचन प्रणालीसम्बन्धी नयाँ योजना सार्वजनिक गरेको हो ।
आलोचकहरूका अनुसार चीनले यूकेसँग गरेको ‘एक देश, दुई प्रणाली’सम्बन्धी सहमतिलाई उल्टाइरहेको र विपक्षीहरूलाई दबाउने काम गरिरहेको छ ।
पहिला उपनिवेश बनाएको यूकेसँग भएको सहमतिअनुसार हङकङले आफ्नै कानुनी व्यवस्था जारी राख्न पाउँछ र वाक तथा प्रेस स्वतन्त्रतासहितका अधिकारहरू त्यहाँ उपभोग गर्न पाइन्छ ।
नयाँ कानुनले ‘देशद्रोह’लाई लक्षित गर्ने र हङकङमा स्थायित्व ल्याउने बेइजिङको दाबी छ । एनपीसीको वार्षिक बैठकका लागि हजारौँ सांसदहरू भेला भएका छन् ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बेइजिङको कदम ‘हङकङको स्वायत्तता, हङ्कङका स्वतन्त्रताहरू र लोकतान्त्रिक प्रक्रियाहरूमाथि एउटा प्रत्यक्ष आक्रमण’ भएको बताएका छन् । उनले भनेका छन्, ‘यदि तिनलाई कार्यान्वयनमा ल्याइयो भने त्यसले हङ्कङका लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउनेछ ।’
यूकेको विदेश मन्त्रालयले आधारभूत अधिकार तथा स्वतन्त्रता, हङकङमा उच्च तहको स्वायत्ततासहित हङ्कङका मानिससँग गरिएका प्रतिबद्धताहरू पूरा गरिरहन चिनियाँ अधिकारीहरूलाई आग्रह गरेको छ ।
यता, एनपीसीका उपाध्यक्ष वाङ्ग चेनले हङकङको समाजमा देखिएका दंगा र अस्थिरताले विद्यमान निर्वाचन प्रणालीमा स्पष्ट कमीकमजोरी रहेको देखाएको सांसदहरूलाई बताएका छन् । विद्यमान प्रणालीमा रहेका जोखिमहरूलाई हटाउनुपर्ने र देशभक्तहरू जिम्मेवारीमा रहेको सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । (बिबिसी नेपाली)

प्रतिक्रिया