विप्लवलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, ‘अब नेपालमा शान्ति छ
अखबार टुडे
प्रकाशित:
२०७७, २१ फाल्गुन

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक कदम चालेको बधाइ दिएका छन् ।
शुक्रबार सरकार र विप्लव समूहबीच भएको सहमतिको हस्ताक्षर समारोहलाई सम्बोधन प्रधानमन्त्री ओलीले भने, ‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवजी, म उहाँलाई बधाई भन्न चाहन्छु, स्वागत भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु ।’ प्रधानमन्त्री ओलीले जनताले शान्ति खोजेको र अहिले त्यो आकाँक्षा पूरा भएको बताए ।
प्रधानमन्त्री ओलीले अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउँदै भने, ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन । नेपालमा शान्ति छ ।’
दुई वर्षअघि २०७५ साल २८ फागुनमा ओली सरकारले नै नेकपा विप्लव समूहलाई प्रतिबन्धित गर्ने घोषणा गरेका थियो । त्यसपछि पहिलोपटक शुक्रबार तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्न राष्ट्रियसभा गृहमा सार्वजनिक भएका महासचिव विप्लवले सहमतिमा प्रतिवद्धता जनाए ।
राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित सहमतिमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका अधिकांश समस्याबाट मुक्ति पाउन जनताले एकपटक निर्णयको अधिकार पाउनुपर्ने बताए । विप्लवले नेपालको बारेमा स्वतन्त्र रुपले जनताले मत राख्ने प्रत्यक्ष प्रणालीमा जानुपर्ने धारणा राख्दै भने, ‘अब त्यो अवसर र अधिकार हामीले जनतालाई दिनुपर्छ । घुमिफिरी रुम्जाटार पुग्ने परम्परा बन्द गर्नपर्छ ।’
नेपाली जनताको चाहाना पूरा भएको छैन’ उनले भने, ‘मृत्युको नजिक नपुगेको कम्युनिस्ट नेता पनि छैनन् । सहिद परिवारलाई विश्वास दिलाउनका लागि बलिदान दिन तयार छौँ । तर, हामी हाम्रो प्रतिबद्धताबाट भाग्दैनौँ ।’

प्रतिक्रिया