काठमाडौं, २० फागुन । प्रतिबन्धित नेकपा विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।
फागुन २१ गते अर्थात शुक्रबार दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने भएका हुन् । राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।
यस्तै सरकार विप्लवबीच पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । वार्ता टोली सदस्य भट्टराईका अनुसार नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको हो ।
मंगलबारमात्रै सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो । लगत्तै विप्लव समुहले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएर वार्ताका लागि तयारी भएका थिए ।