म्यान्मार सैनिक कूः सुरक्षा फौजद्वारा ‘बिना चेतावनी गोली प्रहार’, ३८ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, २० फाल्गुन

काठमाडौं, २० फागुन । म्यान्मारमा बुधबार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन् । जसलाई संयुक्त राष्ट्रसंघले सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ ।
म्यान्मारका लागि राष्ट्रसंघीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताएकी छन् । बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको बिबिसी नेपालीले जनाएको छ ।
सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो संख््यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ ।
गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्। म्यान्मारका छिमेकीहरूले संयम अपनाउन आग्रह गरेको एक दिनपछि त्यस्तो घटना भएको छ ।
राष्ट्रसंघीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते तुल्याइएको बताइन् । उनका अनुसार एउटा भिडिओ क्लिपमा प्रहरीले निसशस्त्र स्वास्थ्य स्वयमसेवकको टोलीलाई पिटिरहेको देखिन्छ ।
त्यस्तै अर्कोमा सडकमा प्रदर्शनकारीमाथि गोली चलाइएको र सम्भवतः मारिएको देखिन्छ । ‘म केही हतियारविज्ञहरूलाई आग्रह गर्छु र उनीहरूले पुष्टि गर्नसक्छन्, स्पष्ट छैन तर प्रहरीको हतियार नौ एमएमको सबमेशिनगन जस्तो देखिन्छ’ उनले भनिन् । सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर छन् । एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ ।
कूपछि नेत्री आङ सान सू चीसहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ । प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन् ।
सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ । उक्त चुनावमा सू चीको दल न्याश्नल डेमोक्र्याटिक पार्टीले ठूलो जित हासिल गरेको थियो ।
सेनाले चुनावमा भएको भनिएको धाँधलीको प्रमाण भने दिएको छैन । उसले निर्वाचन आयोगमा हेरफेर गरेको छ र यही वर्ष ताजा चुनाव गराउने वाचा गरेको छ । अन्तर्राष्ट्रिय रूपमा बढ्दो निन्दाकाबीच सेनाले सडक प्रदर्शनविरुद्धको कदम बढाएको छ र बुधवार थुप्रै ठाउँहरूमा हिंसात्मक झडपहरू भएका छन् ।
मध्य म्यान्मारको मोनयूआको प्रदर्शनमा कम्तीमा चारजना गोली लागेर मारिएका छन् । स्थानीय पत्रकारले बताएअनुसार कम्तीमा ३० जना घाइते भएका छन् । थप मृत्यु याङ्गुन, मान्डले र मिइनजानमा भएको समाचारमा जनाइएको छ । मान्डलेमा एकजना विद्यार्थी प्रदर्शनकारीले बीबीसीलाई बताएका अनुसार उनको घर नजिकै प्रदर्शनकारीहरू मारिएका छन् ।
सेनाले प्रदर्शनकारीहरू मारिएको भनिएको घटनाबारे टिप्पणी गरेको छैन । पछिल्लो हिंसा दक्षिण पूर्वी एशियाका छिमेकी देशहरूका विदेशमन्त्रीहरूसँगको बैठकलगत्तै भएको छ । उक्त समूहले संयम अपनाउन आग्रह गरेको थियो तर केही मन्त्रीहरूले मात्र नेत्री सू चीलाई रिहा गर्न सैनिक सरकारलाई दबाव दिएका थिए ।
आइतवारको हिंसामा १८ जना मारिएका थिए । निर्वाचित सरकार अपदस्थ गर्दै शक्ति हातमा लिएको म्यान्मारको सेनाले सङ्कटकाल घोषणा गरेको छ । पछिल्ला दिनहरूमा सुरक्षाकर्मी र प्रदर्शनकारीहरूबीच हिंसा बढ्दै गएको छ । (बिबिसी नेपाली)

प्रतिक्रिया