ओली समूहको गतिविधि निभ्न लागेको बत्तीजस्तै : अध्यक्ष प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७७, १९ फाल्गुन

काठमाडौं, १९ फागुन । नेकपा प्रचण्ड–माधव समूहले पार्टी हितविपरीत गतिविधि गर्नेहरुलाई निलम्बनको घोषणा गरेको छ । बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकबाट यस्तो निर्णय गरेको हो । बैठकले संसदीय दलको नेता तथा उपनेतालगायतलाई हटाउने निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको बल, संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई आफूहरुले गुम्न नदिने बताए । आफूहरुले ओलीविरुद्धको लडाइँका क्रममा सर्वोच्चमा परेको मुद्दा जितेको बताउँदै र निर्वाचन आयोगले पनि आफूहरुलाई नै आधिकारिकता दिने दावी गरे ।
‘सर्वोच्चको निर्णय हो हाम्रो पक्षमा आयो । निर्वाचन आयोगमा रहेको विवाद पनि जित्ने चरणमा छौँ’ उनले भने, ‘एउटा ब्याटल जित्यौँ, अर्को पनि जित्ने चरणमा छौँ ।’ उनले ओली समूहको गतिविधि निभ्न लागेको बत्तीजस्तै भएको आरोप लगाए ।
बुधबार बसेको केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओली र उपनेता सुवासचन्द्र नेम्वाङलाई हटाउने निर्णय गरेको छ । त्यस्तै शान्ता चौधरीलाई सचेतक हटाइएको छ भने प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य सूर्य थापा, विशाल भट्टराई, महेश बस्ने, प्रभु साह र कर्ण थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया