सितैमा चन्द्रमामा जाने हो ? विश्वभरीबाट ८ जनालाई आमन्त्रण
अखबार टुडे
प्रकाशित:
२०७७, १९ फाल्गुन

काठमाडौं, १९ फागुन (बिबिसी) । जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन् । उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ ।
‘म चाहन्छु यसमा विभिन्न पृष्ठभूमिका मानिस जोडिउन्’ उनले ट्वीटरमा राखिएको भिडिओमा भनेका छन् । उनले त्यसकालागि त्यहाँ आवेदन भर्ने विवरणहरू पनि राखेका छन् । उनले पूरै यात्राकोलागि आवश्यक खर्च आफूले गर्ने र अन्य सहभागीको यात्रा निःशुल्क हुने पनि बताएका छन्
डियरमून नामक अन्तरिक्ष मिसन सन् २०२३ मा उड्ने तय गरिएको छ । उक्त मिसनमा भाग लिनका लागि आवेदकहरूले दुईवटा मापदण्ड पूरा गर्नुपर्नेछ । उनीहरू ‘जुनसुकै गतिविधि’मा भएपनि उनीहरूले ‘अन्य मानिस र बृहत समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्नेछ’ र ‘त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ईच्छुक हुनुपर्नेछ’, उनले भने ।
‘मैले सबै सिटहरू किनिसकेको छु, त्यसैले यो यात्रा निजी हुनेछ’ उनले थपे । फेशन दुनियाँका ती धनाढय र कला संकलकले यात्राका लागि यसअघि आफूले ‘कलाकारहरू’लाई आमन्त्रण गर्न चाहेको बताएका थिए । तर, अब भने ‘यात्रामा समावेश हुन विश्वभरका मानिसहरूलाई मौका दिने’ उनले बताएका छन् ।

प्रतिक्रिया