काठमाडौं, १८ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजारभन्दा बढी ढुवानीकर्तालाई कारबाही गरेको छ ।
निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्याङ्करले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारवाही गरिएको हो ।
निगमको १ नं प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा बढी क्षति गर्ने ५३ ट्रक तथा ट्याङ्करलाई कारवाही गरेको छ ।
लकिङ तथा फिटिङ चेक गर्दा गलत ढङ्गले पाइपलाइन ट्याङ्कीमा जडान गरिएको पाइएपछि उक्त ट्रकलाई प्रहरी हिरासतमा राखी कारवाही अगाडि बढाइएको १ नं प्रादेशिक कार्यालयले जनाएको छ । ट्याङ्कीको ताला काटिएको अवस्थामा फेला परेका ती ट्याङ्करलाई तीन महिनाका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा रोक लगाइएको छ ।
यस्तै पछिल्लो तीन महिनामा २ नं प्रादेशिक कार्यालयले पनि १५० वटा ट्रक तथा ट्याङ्करलाई कारवाही गरेको जनाएको छ । कार्यालयका अनुसार उनीहरूलाई १५ दिनसम्मका लागि ढुवानीमा निलम्बन गरिएको छ । निगमकै इतिहासमा यो सबैभन्दा ठूलो कारवाही भएको बताइएको छ ।
कार्यालयले पाँच चालक÷सहचालकलाई कालोबजारी मुद्दा दायर गरी आजीवन निगमको कुनै पनि डिपोमा प्रवेश गर्न नपाउने गरी निषेध गरेको छ । अनुगमनको क्रममा मिसावट र चोरी गरेको भेटिएपछि पाँच ट्याङ्करलाई छ महिनाको लागि ढुवानी गर्न निलम्बन गरिएको छ ।
निगमले पछिल्लो तीन महिनामा अनियमितता गर्ने ३०० ट्याङ्कर तथा ट्रकलाई कारवाही गरेको छ । निगमले जरिवानाबापत ती ट्रक तथा ट्याङ्करबाट १० हजार सङ्कलन गरेको छ ।
महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले निगम सुधारको रणनीति योजनाअन्तर्गत रहेर कालोबजारीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको बताए । उनले भने, ‘निगमको कदमले गैरकानूनी काम गर्ने निरुत्साहित हुनेछन्, यो निगमकै इतिहासमा एक महत्वपूर्ण कारवाही हो ।’