विप्लवसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा टोली गठन
अखबार टुडे
प्रकाशित:
२०७७, १८ फाल्गुन

काठमाडौं, १८ फागुन । सरकारले प्रतिवन्धित नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् ।
मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिएका हुन् । पछिल्लो समूह सरकार र विप्लव पक्षबीच वार्ताका लागि अनौपचारिक छलफल हुँदै आएको थियो ।
आइतबार झापामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवसँग छिट्टै वार्ता हुने बताएका थिए । नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘तपाईंहरुलाई खुशीको खबर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँँ ।’
उसो त फागुन ८ गते प्रतिबन्धित नेकपाका महासचिव विप्लवले समेत वार्तामा बस्न आफूहरु तयार रहेको जनाउँदै विज्ञप्ति जारी गरेका थिए । आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल रहेको र जनसमुदायमा सहज गतिविधि तथा कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा वार्तामा बस्न तयार रहेको विप्लवको भनाइ थियो । सरकारले वार्ता टोली बनाएसँगै विप्लव समूहबाट पनि छिट्टै वार्ता टोलीको घोषणा गर्ने बुझिएको छ ।

प्रतिक्रिया