ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी
अखबार टुडे
प्रकाशित:
२०७७, १८ फाल्गुन

काठमाडौं, १८ फागुन । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आगलागी भएको छ । आज मंगलबार बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए ।
ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेर नस्ट भएका छन् । आगलागी अझै नियन्त्रणमा आउन नसकेको स्थानीयको भनाइ छ । ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले भने आगो नियन्त्रणको प्रयास भइरहेको बताए । स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका थिए ।
आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा करिब एक घण्टा लाग्छ । आगलागीको कारण खुलेको छैन । आगोले पुर्याएको क्षतिको विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दोभान ताप्लेजुङ जिल्लाको दोस्रो ठूलो बजार हो । यहाँ काठले बनेका कच्ची घरहरु धेरै छन् । बाटो पनि साँघुरो छ । दोभान बजारमा एक सय जति घरहरु रहेका छन् ।
ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए ।

प्रतिक्रिया