अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको आधिकारिता र सूर्य चिन्ह हाम्रो भइसक्यो’
अखबार टुडे
प्रकाशित:
२०७७, १७ फाल्गुन

काठमाडौं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको आधिकारिकता बहुमत पक्षकै हुने दावी गरेका छन् । उनले सोमबार पेसागत महासंघको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफूहरुले पाउने दाबी गरे ।
अध्यक्ष प्रचण्डले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी व्यवस्था, आयोगसँग पटक–पटक भएका छलफल र जनभावनाका आधारमा पार्टीको आधिकारिकता र निर्वाचन चिन्ह सूर्य आफूहरुले नै पाउने बताए ।
आफूले पहिले पनि संविधान र कानूनका प्रावधानका आधारमा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने बताएको र आफ्नो भनाइ सत्य सावित भएको बताए ।
‘अहिले पनि मैले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था, आयोगसँग पटक–पटक भएका छलफल, लोकतान्त्रिक मूल्य मान्यता र जनभावनाका आधारमा यो कुरा भनिरहेको छु,’ प्रचण्डले राजधानीमा सोमबार पेशागत महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मैले त्यत्तिकै भनेको होइन, बुझेरै भनेको छु, आयोगले पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य बहुमत पक्षकै हो भनेर भन्दैछ, घोषणा नै हुँदैछ, कुनै शंका नगरे हुन्छ ।’ अध्यक्ष प्रचण्डले ओलीतर्फ लागेका नेताहरुलाई त्यता नलाग्न र बेलैमा सहि निर्णय गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया