सेनाप्रमुख हटाउने आर्मेनियाका प्रधानमन्त्रीको निर्णय राष्ट्रपतिबाट अस्वीकार
अखबार टुडे
प्रकाशित:
२०७७, १६ फाल्गुन

येरेभान, १६ फागुन (एएनआई) । आर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गरेका छन् । सेना प्रमुखलाई बर्खास्त गर्ने प्रधानमन्त्री निकोल पाशिन्यानको सिफारिसलाई राष्ट्रपति अर्मेन सर्गस्यानले शनिबार अस्वीकार गरेका हुन् ।
देशको संविधान, राष्ट्रिय सुरक्षा, स्थिरतालगायतलाई जोगाउनु राष्ट्रपतिको दायित्व भएकाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति सर्गस्यानले हस्ताक्षर नगरेको राष्ट्रपति कार्यालयका एक अधिकारीले जनाएका छन् ।
सुरक्षा निकायको बारेमा पनि राष्ट्रपतिको विशेष जिम्मेवारी हुने र त्यसलाई नकारात्मक असर पर्न नदिनेतर्फ राष्ट्रपति उभिनु उहाँको दायित्व भएको राष्ट्रपति निकटस्थहरुको भनाई छ ।
प्रधानमन्त्री पाशिन्यानले सेनाप्रमुख ओनिक गास्पार्यानसहित केही उच्च सैन्य अधिकारीहरुलाई अघिल्लो हप्ता बर्खास्त गर्न सिफारिस गरेका थिए । सेनाप्रमुख सहितका वरिष्ट सैन्य अधिकारीहरुले प्रधानमन्त्री पाशिन्यानले राजीनामा दिनुपर्ने माग गर्दै वक्तव्य जारी गरेका थिए । तर प्रधानमन्त्रीले सैनिक नेतृत्वबाट आएको वक्तव्यलाई ‘सैन्य कु’को संज्ञा दिएका थिए ।
आफूले सेनाप्रमुखलाई बर्खास्त गरेको उनले सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका थिजए । सेनाले सरकारको अपेक्षा र हितभन्दा विपरीत गएर काम गरेको र चित्तबुझ्दो भूमिका नभएको उनको भनाई थियो ।
आर्मेनिया र अजरबैजानबीच लामो समयदेखि दुई पक्षीय द्वन्द्व चल्दै आएको छ । त्यसमा पनि सेनाप्रमुखले प्रभावकारी भूमिका खेल्न नसकेको प्रधानमन्त्रीको आरोप छ ।

प्रतिक्रिया