‘ओली पक्ष सुटकेस बोकेर हिँड्न थालेका छन्’
अखबार टुडे
प्रकाशित:
२०७७, १५ फाल्गुन

गोरखा । नेकपा प्रचण्ड–नेपाल समूह्का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै केपी ओली पक्षले सांसद खरिद गर्न सुटकेस बोकेर हिँड्न थालेको बताएका छन् । शनिबार आफ्नो गृहजिल्ला गोरखाका अगुवा नेता कार्यकर्तासँग छलफलमा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भने, ‘ओली पक्ष सांसद खरिदका लागि सुटकेस बोकेर हिँड्न थालेका छन् । तर, उनीहरुको योजना कुनैपनि हालतमा सफल हुन सक्दैन ।’
नेता श्रेष्ठले नैतिकता आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिइ पदमा टाँसिएर बसेको भन्दै आक्रोश पोखेका थिए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेर संविधान र देशको पक्षमा साहसिक फैसला गरेको टिप्पणी गर्दै उनले न्यायालयमाथि जनताको भरोसा अझ बढेर गएको बताए ।
‘संसद पुर्नस्थापनासँगै सबै चिज ठीकठाक र सरल हुन्छ भन्ने छैन’ उनले भने, ‘ओलीले एकपछि अर्को जसरी अनैतिक कार्यको श्रृखंला अगाडि बढाएका छन् । यसप्रति हिजो आन्दोलनरत पक्ष सबै चनाखो रहनुपर्ने हुन्छ ।’
नेता श्रेष्ठले ओलीले अब जस्तोसुकै कदम चालेपनि त्यसको सामना गर्ने बताए । उनले भने, ‘मलाई पूरा विश्वास छ, नेपाली काँग्रेस, जसपा लगायतका राजनीतिक दलहरुले कुनैपनि हालतमा ओलीको योजनालाई साथ दिने छैनन् ।’

प्रतिक्रिया