अमेरिकी गुप्तचर निकायको रिपोर्टलाई साउदीले भन्यो, ‘नकारात्मक, झुटो र अस्वीकार्य’
अखबार टुडे
प्रकाशित:
२०७७, १५ फाल्गुन

काठमाडौं, १५ फागुन (एजेन्सी) । अमेरिकी गुप्तचर निकायको रिपोर्टले साउदी युवराज मोहम्मद बिन सलमानले निर्वासनमा रहेका पत्रकार जमाल खसोग्जीको सन् २०१८ मा भएको हत्याको स्वीकृति दिएको पाएको छ ।
बाइडन प्रशासनले सार्वजनिक गरेको रिपोर्टअनुसार युवराजले खसोग्जीलाई ‘पक्राउ गर्न अथवा हत्या गर्ने’ योजनालाई स्वीकृति दिएका थिए । अमेरिकाले दर्जनौँ साउदीहरूमाथि प्रतिबन्ध लगाएको छ तर युवराजलाई भने लगाएको छैन ।
साउदी अरेबियाले उक्त रिपोर्टलाई अस्वीकार गर्दै त्यसलाई ‘नकारात्मक, झुटो र अस्वीकार्य’ बताएको छ ।
साउदीमा प्रमुख नेतृत्वदायी भूमिकामा रहेका युवराज मोहम्मदले खसोग्जी हत्यामा उनको कुनै भूमिका रहेको भन्ने अस्वीकार गरेका छन् । खसोग्जी इस्तानबुलमा रहेको कन्सुलेट भ्रमण गर्दा टर्कीमा मारिएका थिए र उनको शरीर टुक्रा टुक्रा पारिएको थियो ।
५९ वर्षीय पत्रकार खसोग्जी कुनैबेला साउदी सरकारका सल्लाहकार थिए र राज परिवारसँग निकट थिए । तर पछि उनी टाढिए र स्व–निर्वासनमा सन् २०१७ मा अमेरिका पुगेका थिए । उनले वाशिङ्टन पोष्टका लागि मासिक स्तम्भ लेख्थे, जसमा उनले युवराज मोहम्मदको नीतिहरूको आलोचना गर्ने गर्थे ।
अमेरिकी गुप्तचर निकायको कार्यालयले तयार पारेको रिपोर्टमा भनिएको छ, ‘साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले इस्तानबुलमा साउदी पत्रकारलाई पक्राउ गर्न या हत्या गर्ने योजना अनुमोदन गरेका थिए भन्ने हाम्रो ठम्याइ छ ।’
गुप्तचर रिपोर्टले उक्त कारबाही साउदी युवराजले गराएका थिए भन्ने निष्कर्षमा पुग्न तीनवटा कारण देखाएको छ । रिपोर्टमा खसोग्जीको हत्यामा संलग्न भनेर आरोपितहरूको नाम पनि उल्लेख गरिएको छ ।
सन् २०१९ मा संयुक्त राष्ट्र संघीय विशेष दूत एगनेस कालामार्डले साउदी राज्यलाई खसोग्जीको हत्या गराएको भन्दै न्यायालयको दुरुपयोग गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया