अमेरिकाले पत्रकार खशोग्जी हत्या रिपोर्ट सार्वजनिक गर्ने
अखबार टुडे
प्रकाशित:
२०७७, १४ फाल्गुन

काठमाडौं, १४ फागुन (एजेन्सी) । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खशोग्जीको हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने भएको छ ।
रिपोर्टमा हत्यामा साउदी अरबका शक्तिशाली युवराज मोहम्मद विन सलमानलाई जिम्मेदार ठहर्याइएको अनुमान गरिएको छ । पत्रकार खशोग्जीको हत्या सन् २०१८ को अक्टुबर २ तारिखमा टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासभित्र हत्या भएको थियो ।
खशोग्जीलाई साउदी अरबका शासकको आलोचक मानिन्थ्यो । त्यसैले उनको हत्या साउदी राजकुमारले नै गराएको अनुमान छ । यद्यपि साउदी राजकुमारले आफूमाथि लगाइएको आरोप र गरिएको शंकालाई नकार्दै आएका छन् ।
अमेरिकाले आगामी बिहीबार खशोग्जी हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्ने बीबीसीले जनाएको छ । अनुसन्धान रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर विभाग सीआईएले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले यो हत्याको रिपोर्ट पढिसकेका छन् र उनले यसबारेमा साउदी अरबका बादशाह सलमानसँग कुरा पनि गर्ने तयारी गरेका छन्’ बीबीसीले लेखेको छ, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा साउदी अरब र अमेरिकाबीच नजिकको सम्बन्ध थियो । बाइडनले भने साउदीसँगको सम्बन्धलाई नयाँ सिराबाट अघि बढाउन चाहेका छन् ।’
खसोग्जी साउदी अरबका कट्टर आलोचक मानिने चर्चित पत्रकार तथा लेखक हुन् । उनी अल अरब न्यूज च्यानलका पूर्वप्रधान सम्पादकसमेत हुन् । खसोग्जी सन् २०१७ सेप्टेम्बरमा साउदी अरबबाट भागेर अमेरिका पुगेका थिए । उनले देशबाहिरबाटै साउदी अरब सरकार र साउदीका शक्तिशाली युवराज सलमानको आलोचना गर्दै अखबारमा लेखहरु लेख्दै आएका थिए ।

प्रतिक्रिया